काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले गत असार २३ गते कञ्चनपुरलगायत क्षेत्रमा भएको अति भारी वर्षाको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको छ ।
विभागले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार सो वर्षाको प्रणालीहरुको सम्मिश्रण प्रक्रिया तथा वर्षाको परिमाणका आधारमा उक्त मौसमी घटनालाई ‘तराई क्लाउडब्रष्ट’ नामाकरण गरिएको छ ।
विभागले जिल्लाका दोधारा, हनुमान नगर र सुन्दरपुरमा जडित स्वचालित वर्षा मापन उपकरणहरुको स्थलगत परीक्षण गरी दोधारा र हनुमान नगर हावापानी केन्द्रमा जडित उपकरणको कार्य अवस्था मापदण्ड भित्रै रहेको र प्राप्त तथ्याङ्क सही रहेको उल्लेख गरेको छ ।
तथापि सुन्दरपुर केन्द्रमा जडित उपकरणबाट हाल प्राप्त भएको तथ्याङ्क विभागको मापदण्डभन्दा फरक देखिएकाले थप अध्ययन गर्नुपर्ने स्थलगत परीक्षण टोलीले पेस गरेको विभागको प्रतिवेदनको सारांशमा उल्लेख छ ।
गत असार २३ गते राति २२ः०५ देखि २३ः०५ बजेसम्म एक घण्टाको अवधिमा हनुमान नगरमा एक सय दुई मिलिमीटर वर्षा मापन भएको थियो । उक्त क्षेत्रमा सतही, मध्य र उपल्लो वायुमण्डलमा मनसुनी र पश्चिमीवायुमा विकास भएको न्यूनचापीय प्रणालीहरुको सम्मिश्रणका कारण अत्यधिक वर्षा भएको अध्ययनबाट देखिएको विभागका प्रवक्ता सुनिल पोखरेलले जानकारी दिए ।
सर्वाधिक वर्षाका कारण कञ्चनपुरका समथर भू–भागहरु डुबानमा परेको तथा विभिन्न नदीनालामा बाढी समेत आई क्षति भएको थियो । असार २५ गते बिहान ६ः१५ बजेको स्याटलाइट तस्बिरको विश्लेषण गर्दा कञ्चनपुरको करिब ९८ वर्ग किलोमिटर क्षेत्रफल (कुल क्षेत्रफलको करिब छ प्रतिशत) भू–भाग डुबानमा परेको थियो । जसमध्ये करिब ८५ वर्ग किमी कृषियोग्य भू–भाग रहेको तथा स–साना संरचनाहरू समेत गरी करिब १४ हजार भवन प्रभावित भएका थिए ।
नेपालमा हालसम्म मापन गरिएको सर्वाधिक वर्षाको घटनामा तुलनात्मक रुपमा कम क्षति भएको विवरणहरु स्थलगत भ्रमणका क्रममा गरिएका अन्तरक्रिया तथा अन्य स्रोतबाट प्राप्त भएको छ । यसरी क्षति न्यूनीकरण हुनुमा विभागबाट समयमै प्रवाह गरिएको विशेष बुलेटिनहरु, प्रभावमा आधारित मौसम पूर्वानुमान, ‘मास एसएमएस’ सेवा तथा सो अनुरुप पर्याप्त पूर्वतयारी र पूर्वकार्य एवं प्रभावकारी खोज तथा उद्धारको प्रमुख भूमिका रहेको प्रतिवेदनको निष्कर्ष छ ।
जलवायु परिवर्तनका कारण यस्ता विषम जल तथा मौसमी घटनाहरु बढ्दै जाने हुँदा विपद्को जोखिम न्यूनीकरण गर्न पूर्वानुमान तथा पूर्वतयारीलगायतका उपरोक्त क्षेत्रहरुमा लगानी बढाउँदै जानु आवश्यक रहेको प्रतिवदेनको सुझाव छ ।
यस विभागको मिति २०८१/०३/२५ गतेको प्रेस विज्ञप्ति बमोजिम नेपालमा हाल सम्म मापन गरिएको सर्वाधिक वर्षा बारे थप अध्ययन गरी निम्नानुसार विवरण सार्वजनिक गरिएको छ।
दोधारा, हनुमान नगर र सुन्दरपुरमा जडित स्वचालित वर्षा मापन उपकरणहरुको स्थलगत परिक्षण गर्दा दोधारा र हनुमान नगर हावापानी केन्द्रमा जडित उपकरणको कार्य अवस्था विभागको हालको मापदण्ड भित्रै रहेको पाइएकोले उक्तकेन्द्रहरुबाट प्राप्त तथ्याङ्क सही रहेको देखिन्छ। तथापि सुन्दरपुर केन्द्रमा जडित उपकरणबाट हाल प्राप्त भएको तथ्यांक विभागको मापदण्ड भन्दा फरक देखिएकोले थप अध्ययन गर्नु पर्ने देखिन्छ। स्थलगत परिक्षण टोलीले पेश गरेको प्रतिवेदन https://www.dhm.gov.np/uploads/dhm/downloads/Kanchanpur_field_report_20240802.pdf मा हेर्न सकिन्छ।
साथै, मिति २०८१/०३/२३ गते राती २२:०५ देखि २३:०५ सम्मको एक घण्टाको अवधिमा हनुमान नगरमा १०२ मि.मि. वर्षा मापन भएको छ। मिति २०८१/०३/२५ को प्रेस विज्ञप्तिमा उल्लेख गरिए बमोजिम उक्त क्षेत्रमा सतही, मध्य र उपल्लो वायुमण्डलमा मनसुनी र पश्चिमीवायुमा विकास भएको न्यूनचापीय प्रणालीहरुको समिश्रणको कारण अत्याधिक वर्षा भएको देखिन्छ। यी प्रणालीहरुको समिश्रणको प्रक्रिया तथा बर्षाको परिमाणको आधारमा उक्त मौसमी घटनालाई “तराई क्लाउडबर्ष्ट” मान्न सकिन्छ।
यस सर्वाधिक वर्षाका कारण कञ्चनपुर जिल्लाका समथर भू-भागहरु डुबानमा परेको तथा विभिन्न नदीनालाहरूमा बाढी समेत आइ क्षति भएको थियो। मिति २०८१/०३/२५ गते बिहान ६:१५ बजेको स्याटलाइट तस्बीर (Sentinel-1 Radar Imagery) को विश्लेषण गर्दा कञ्चनपुर जिल्लाको करिब ९८ वर्ग किलोमिटर क्षेत्रफल (कुल क्षेत्रफलको करिब ६%) भू-भाग डुबानमा परेको देखिन्छ जसमध्ये करिब ८५ वर्ग कि.मी. कृषियोग्य भू-भाग रहेको तथा स-साना संरचनाहरू समेत गरी करिब १४,००० भवनहरु प्रभावित भएको देखिन्छ।
नेपालमा हालसम्म मापन गरिएको सर्वाधिक वर्षाको घटनामा तुलनात्मकरुपमा कम क्षति भएको विवरणहरु स्थलगत भ्रमणका क्रममा गरिएका अन्तरकृया तथा अन्य स्रोतवाट प्राप्त भएको छ। यसरी क्षति न्यूनीकरण हुनुमा विभागवाट समयमै प्रवाह गरिएको विशेष बुलेटिनहरु, प्रभावमा आधारित मौसम पूर्वानुमान, मास एस.एम.एस. सेवा तथा सो अनुरुप पर्याप्त पूर्वतयारी र पूर्वकार्य एवं प्रभावकारी खोज तथा उद्धार कार्यको प्रमुख भुमिका रहेको देखिन्छ। जलवायु परिवर्तनका कारण यस्ता विषम जल तथा मौसमी घटनाहरु वढ्दै जाने हुँदा विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वानुमान तथा पूर्वतयारी लगायतका उपरोक्त क्षेत्रहरुमा लगानी बढाउदै जानु आवश्यक देखिन्छ।
सुनिल पोखरेल
प्रवक्ता
जल तथा मौसम विज्ञान विभाग