काठमाडौं । आज (बिहीबार) ६ वटा संसदीय समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभा अन्तर्गतका चार र राष्ट्रिय सभा अन्तर्गतका दुईटा समितिको बैठक बस्दैछ ।
बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा नेपालको पुँजीबजार सम्बन्धी समसामयिक विषयमा धितोपत्र बोर्डसँग छलफल गर्ने कार्यसूची छ । कानुन, न्याय तथा मानवअधिकार समिति र राज्य व्यवस्था समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ । कानुन समितिको बैठकमा टिआरसी विधेयकबारे छलफल गर्ने कार्यसूची छ भने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संसोधन गर्न बनेको विधेयकबारे छलफल हुने कार्यसूची छ ।
सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो साढे १ बजे बस्ने छ । बैठकमा विद्यालय शिक्षा विधेयक २०८० माथि संसोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ । राष्ट्रिय सभा अन्तर्गतका सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक साढे १२ बजे बस्ने छ । बैठकमा पुरातात्विक महत्वका सम्पदाहरूको अवस्था सम्बन्धमा छलफल गर्ने, ग्यालरी बैठकभित्र रहेका पुरातात्विक वस्तुहरूको संरक्षण सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो २ बजे बस्ने छ ।
बैठकमा वर्षायाममा डेंगु, हैजा लगायतका सरुवा रोग संक्रमणको हालको अवस्था सरूवा रोग नियन्त्रणका लागि मन्त्रालय र अन्तर्गतका निकायबाट भए गरेका कामकारबाही, समस्या र भावी कार्ययोजना, समग्र स्वास्थ्य क्षेत्रको सुधारको कार्ययोजना सम्बन्धमा छलफल हुने बताइएको छ ।