देश

देशलाई समृद्ध बनाउनु छ, सार्वजनिक सम्पत्ति हिनामिना हुन दिन्न : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पती हिनामिना नगर्ने बताएका छन् ।लायन्स क्लवले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको र अब पनि नगर्ने प्रतिवद्धतासमेत दोहोर्‍याए ।

देशलाई सुशासन, तिब्र विकाससहित समृद्धि दिनका लागि आफू सदैव लागि परेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले राज्यबाट आफूले कुनैपनि कुरा लिन नचाहेको बताए ।

गरिवी, अभावले तड्पिएर जनता रोइरहेका बेला आफूले कसरी भ्रष्टाचार गर्नसक्छु ? भनि प्रधानमन्त्री ओलीले प्रतिप्रश्न समेत गरे । उनले आफूले जनताले गरिवी र अभाव भोग्नु नपरोस् भन्ने कुरालाई चासोमा राखेर त्यसलाई पूरा गर्नका लागि समृद्ध नेपालः सुखी नेपालीको गन्तव्य तय गरेको अघि बढेको तर्क पनि गरे ।

प्रधानमन्त्री ओलीले आम जनताका आवश्यकतालाई पूरा गर्न आफूले काम गर्ने पनि बताए ।उनले भने– ‘गरिवी छ । बालबालिकाहरु खाना नपाएर भोकले तड्पिरहेका छन् । चिन्ताको विषय यो हो । म ती बच्चाबच्चीहरुले खाना नपाएर रोएको देख्दा आँखामा आँशु आउँछ । म राष्ट्रको सम्पती, सार्वजनिक सम्पती आफ्नो खल्तीमा सार्नसक्छु ? म सक्दिन । त्यसकारण म भ्रष्टाचार गर्दिन । मलाई लाग्छ । म एउटा पोलिटिक्स गर्ने मान्छे । तर लायन्ससँग मेरो भावना मिल्छ । मलाई राज्यबाट केही लिनुछैन । राज्यलाई सुव्यवस्था कसरी दिन सकिन्छ ? उत्पादन, उत्पादकत्व कसरी वृद्धि गर्न सकिन्छ ?

जनतामा आम्दानीको स्रोत कसरी खडा गर्ने, उद्यमशीलता, रोजगारी आदिबाट । र हामीले पछिल्लो नेपाललाई विकसित नेपाल, अविकसित नेपाललाई विकसित नेपाल बनाउनु छ । अस्ती संयुक्त राष्ट्र संघका प्रतिनिधिलाई मैले भने–मेरो सबैभन्दा ठूलो चासोको विषय निरपेक्ष गरिवीको रेखामुनि रहेर, खाना लगाउन नपाएर तड्पीएका बालबालिकाहरु हुन् ।

त्यस्तै पीडा भोगेका जनता हुन । आफ्नो छोराछोरीले भोकले रुँदाखेरी केही दिन नसक्ने र तड्पिनुपर्ने आमाबुबाको मन कस्तो हुँदो हो ? हो त्यही परिवर्तन गर्नुछ हामीले । त्यसका निम्ति सुशासन दिनुछ । विकासको गतिलाई तिब्र ढंगले अघि बढाउनुछ । र देशलाई समृद्ध बनाउनु छ । आधुनिक बनाउनु छ, विकसित बनाउनु छ । र जैविक र मानवीय आवश्यकको सहज पहुँचमा मानिसहरुलाई पु¥याउनुछ । ’

त्यस अवसरमा प्रधानमन्त्री ओलीले लायन्सले मानवीय सेवाको क्षेत्रमा गर्दै आएको कामको पनि खुलेर प्रशंशा गरे ।उनले लायन्सले इमान्दार भएर मानवीय सेवाको क्षेत्रमा काम गरेको उल्लेख गर्दै त्यसमा आफ्नो पनि सदैव साथ रहने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *