काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल सुरु गरेको छ ।
समितिको आइतबार बसेको बैठकले विधेयकमाथिको दफावार छलफल सुरु गरेको हो । दफावार छलफल सुरु गर्नुअघि विधेयकमा संशोधन गर्ने सांसदहरूले आफ्नो संशोधनको ब्यहोरा राखेका थिए । सभापति रामहरी खतिवडाले संशोधनकर्ता सांसदहरूले आफ्नो धारणा राखिसकेपछि समिति बैठक दफावार छलफलमा प्रवेश गरेको बताएका थिए ।
लगत्तै समितिका सचिव सुरजकुमार दुराले विधेयकको प्रस्तावना तथा संक्षिप्त नाम र प्रारम्भ बैठकमा पढेर सुनाए । सांसदहरूले प्रस्तावना र संक्षिप्त नाममा कुनै संशोधन प्रस्ताव नगरेपछि बैठकले प्रस्तावना र संक्षिप्त नाम पारित भएको घोषणा गरिएको थियो ।
विधेयकको प्रस्तावनामा ‘भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न वाञ्छनीय भएकोले सङ्घीय संसदले यो ऐन बनाएको छ’ भनेर उल्लेख गरिएको छ । संक्षिप्त नाम र प्रारम्भमा ‘यस ऐनको नाम ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) ऐन २०७६’ रहेको छ’ भनी उल्लेख छ । त्यसैगरी ‘यो ऐन तुरुन्त प्रारम्भ हुनेछ’ भनिएको छ ।
समितिको आगामी बैठकमा भ्रष्टाचार निवारणको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समितिलाई दिएको सुझावहरूको सन्दर्भमा आयोगका पदाधिकारीहरूलाई बोलाएर छलफल गरिने समिति सभापति खतिवडाले जानकारी दिए ।