मुख्य समाचार

यमनमा दुई जहाज नजिकै विस्फोट भएको सूचना प्राप्त : सुरक्षा एजेन्सीहरू

दुबई। यमनको तट नजिकै मङ्गलबार दुई जहाजमा विस्फोटको खबर प्राप्त भएको तर कुनै पनि घटनामा क्षति वा चोटपटक नदेखिएको सामुद्रिक सुरक्षा एजेन्सीहरूले बताएका छन् ।

राजधानी सानालगायत धेरै क्षेत्रमा नियन्त्रण गर्ने हुथी विद्रोहीहरूका कारण यमनको लाल सागर र अदनको खाडी जहाजहरूका लािग खतरनाक बनेको छ । उनीहरूले युद्धग्रस्त गाजामा प्यालेस्टिनीहरूसँग ऐक्यबद्धता देखाउन आक्रमण सुरु गरेका छन् ।

विद्रोहीहरूको कब्जामा रहेको बन्दरगाह सहर होडेडाबाट ६३ सामुद्रिक माइल दक्षिणपश्चिममा रहेको एउटा जहाजले मङ्गलबार बिहानै दुई विस्फोट भएको जानकारी दिएको छ ।

युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन्स (युकेएमटिओ) ले भनेको छ, “नजिकै एउटा सानो जहाजलाई शङ्कास्पद तरिकाले काम गरिरहेको र जहाजतर्फ बत्तीहरू चम्किरहेको देखियो ।”

बेलायती नौसेनाद्वारा सञ्चालित उक्त एजेन्सीका अनुसार जहाजमाथि ‘एउटा चालकरहित युएसभीले आक्रमण गरिएको थियो र त्यसलाई सफलतापूर्वक निष्क्रिय बनाइएको थियो ।’ “जहाज र चालक दल सुरक्षित रहेको बताइएको छ र जहाज आफ्नो बन्दरगाहतिर बढिरहेको छ”, एजेन्सीले भनेको छ ।

सामुद्रिक सुरक्षा फर्म एम्ब्रेले जहाज हुथी लक्ष्यको प्रोफाइलसँग फिट देखिएको बताएको छ । पश्चिमी नौसैनिक गठबन्धनद्वारा सञ्चालित संयुक्त सामुद्रिक सूचना केन्द्र (जेएमआइसी) ले जहाजको पहिचान लाइबेरिया–ध्वजाङ्कित कच्चा तेल ट्याङ्कर डेल्टा अटलान्टिकका रूपमा गरिएको बताएको छ ।

युकेमटिओले होडेडाबाट ९७ सामुद्रिक माइल उत्तरपश्चिममा रहेको अर्को जहाजले पनि ‘जहाज वरपर विस्फोट’ भएको सूचना दिएको छ ।

जेएमआइसीले जहाजको पहिचान पनामा–ध्वजाङ्कित कच्चा तेल ट्याङ्कर अन फिनिक्सका रूपमा गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *