पर्यटन

युद्धस्तरमा काम गर्ने जोशीको प्रतिवद्धता

काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सीइओ) दीपकराज जोशीले पदभार ग्रहण गर्दै युद्धस्तरमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । दोस्रो कार्यकालका लागि उनले बोर्डको नेतृत्व सम्हाल्दै सरोकारवालाबीचको सहकार्यलाई प्राथमिकता दिने र युद्धस्तरमा काम गर्ने प्रतिवद्धता जनाएका हुन् ।

बोर्डको आन्तरिक व्यवस्थापनमा धेरै समस्या आइसकेको सुनेको भन्दै त्यसलाई सच्याउँदै आक्रामक पर्यटन प्रवर्द्धनमा बढी केन्द्रित हुने उनको भनाइ छ । होटल÷रिसोर्टमा निरन्तर लगानी बढे पनि त्यसका लागि आवश्यक पर्यटक आगमन नभएको भन्दै धेरै काम गर्नुपर्ने देखिएको उनले बताए ।

सरकार र निजी क्षेत्रबीच समन्वय गरी सार्वजनिक–निजी–साझेदारी (पीपीपी) मोडलको असली अभ्यासलाई पुनः सक्रिय गराउने उनको प्रतिवद्धता रहेको छ । आफ्नो कार्यकालमा पर्यटनको बजारीकरण, जनसम्पर्क विस्तार, अनुसन्धान तथा आन्तरिक जनशक्तिको वृत्ति विकास लगायत कार्य प्राथमिकतामा राखेर काम गर्ने उनले बताए । बोर्ड कार्यकारी समितिको २० भदौमा बसेको बैठकले नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा १४ बमोजिम जोशीलाई ४ वर्षका लागि सीईओमा नियुक्ति गर्ने निणर्य गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *