काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खेलकुदमा सहभागी गराएर युवालाई कुलतबाट जोेगाउन सकिने बताएका छन् ।
गृह जिल्ला राजविराजमा आज आयोजित सप्तरी क्रिकेट सङ्घको पाँचौँ वार्षिक साधारणसभामा उहाँले कुलतमा लागेका युवालाई खेलकुदतर्फ आकर्षित गरेर भविष्य सुधार्न सकिने बताउनुभयो । मुख्यमन्त्री सिंहले भने “कुलतबाट जोगाई उनीहरुको ऊर्जा खेलकुद र मुलुक निर्माणमा लगाउनु आवश्यक छ । यसमा युवाहरूलाई प्रोत्साहनका लागि मधेस प्रदेश सरकारले पनि सकेसम्म पहल गर्छ ।”
कर्णाली प्रदेशमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेस प्रदेशबाट पनि बढीभन्दा बढी खेलमा सहभागिता जनाई धेरै पदक हासिल गर्नेतर्फ प्रयत्नशील रहन उनले सम्बद्ध पक्षलाई आग्रह गरे । “कर्णालीमा हुने राष्ट्रिय खेलकुदलाई लक्षित गरी आवश्यक तयारी गर्नुस् । प्रदेश सरकारले गर्नुपर्ने सहयोगका लागि समेत हामी तयार छौँ । यसका साथै दुई वर्षपछिहुने ११औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मधेस प्रदेशमा आयोजना हुने तय भइसकेको छ, यसका लागि जनकपुर, वीरगञ्ज र राजविराजमा खेलमैदानलगायत आवश्यक पूर्वाधार व्यवस्थापनका लागि केन्द्र सरकार समेतको सहयोगमा प्रदेश सरकार अगाडि बढ्छ”, उनले भने ।
कार्यक्रममा क्रिकेट सङ्घका अध्यक्ष आयुष श्रेष्ठले आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन तथा २०८१र८२ को वार्षिक कार्यक्रम प्रस्तुत गर्दै अगामी एक वर्षभित्र जिल्लामा आयोजना गरिने महिला तथा पुरुष क्रिकेटका १३ वटा प्रतियोगिता र एक÷एकवटा बन्द प्रशिक्षण तथा ‘टर्फ पिच’ निर्माणबारे जानकारी गराएका थिए ।
सङ्घका सचिव चन्दनकुमार यादवद्वारा सञ्चालित कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेल, पत्रकार महासङ्घ सप्तरीका सभापति श्रवणकुमार देव, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष मनोजकुमार माझी, वडाअध्यक्ष शशी चौधरीलगायतले पनि शुभकामना व्यक्त गरेका थिए ।