काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक २३ गतेदेखि चैत १८ गतेसम्म रातको समय बन्द हुने भएको छ । विमानस्थलभित्र भइरहेको धावनमार्ग विस्तार लागि आउँदो कात्तिक २३ गते देखि ५ महिना सम्मका लागि राती १० बजेदेखि बिहान ८ बजेसम्म १० घण्टा उडान बन्द हुने भएको हो ।
नागरिक उड्डयन प्राधिकरणद्वारा वायुसेवाहरुमा जारी सूचनाअनुसार, विमानस्थलमा जारी निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएकाले २०८१ कात्तिक २३ देखि चैत १८ गतेसम्म राती १० बजेपछि उडान हुने छैनन् ।
यो अवधिमा विमानस्थल बन्द गरी पार्किङ, ट्याक्सी वे, ह्याङ्गरजस्ता संरचना निर्माण हुँदैछन् । तर, यस समयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले भने अहिलेकै व्यवस्था अनुसार ६ घण्टा ५० मिनेटको ड्युटी समय कायम गरी तीन सिफ्टमा कर्मचारी खटाइराख्ने भएको छ । यसरी अतिरिक्त खट्ने कर्मचारीलाई प्राधिकरणले थप सेवा सुविधा दिनुपर्ने हुन्छ ।
प्राधिकरण व्यवस्थापनको बैठकले हालकै व्यवस्था अनुसार साढे ६ घण्टाको ड्युटी समय कायम गरी तीन सिफ्टमा विमानस्थल सञ्चालन गर्ने र प्रधान कार्यालयबाट स्वीकृत होलनाइट कोटा बमोजिम रोस्टर प्रकाशित गरी कर्मचारीलाई ड्युटीमा खटाउने निर्णय गरेको छ ।
यसरी कर्मचारीलाई खटाए बापतको सुविधा प्रशासनले व्यवस्था गर्ने निर्णय सो बैठकले गरेको छ । तर, प्राधिकरणले भने उडान÷अवतरणको चाप नहुने समयमा पनि कर्मचारी खटाएर अतिरिक्त सुविधा समेत दिने निर्णय गरेको हो ।