सम-सामयिक

मेरो कार्यकालमै काठमाडौँमा पानीको समस्या समाधान गर्छु : खानेपानीमन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले आफ्नो कार्यकालभित्रै काठमाडौं उपत्यकामा पानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले काठमाडौं उपत्यकामा अहिले ५१ करोड लिटर पानीको माग रहेको र भविष्यलाई पनि मध्यनजर गरी पानीको समस्या समाधान गर्न आफू लागिपरेको बताए । उनले मन्त्रालयले दीर्घकालीन समाधानका लागि पनि आफ्ना योजनाहरू बनाइरहेको बताए ।

मन्त्री यादवले तत्काल २५ करोड ५० लाख लिटर क्षमता भएको प्लान्ट सुन्दरीजलमा टेण्डरका लागि प्रक्रिया अघि बढाइएको बताए । शिवपुरी राष्ट्रिय निकुञ्जका सानातिना मुहानमा केही रकम खर्च गरेर पानी काठमाडौं पथान्तरण गर्ने व्यवस्थामा पनि मन्त्रालय लागेको उल्लेख गरे । मन्त्री यादवले काठमाडौंवासीलाई १२ महिना नै पानी खुवाउने गरी मन्त्रालयले काम गरिरहेको दाबी गरे ।

उनले प्राविधिक समस्याका कारण मन्त्रालयलाई पनि केही समस्या परेकाले नीति, नियमहरू संशोधन गरी अघि बढिरहेको बताए । मन्त्री यादवले सिस्नेरीबाट पानी निकट भविष्यमै काठमाडौं ल्याउने तयारी गरिएको बताए ।

उनले भने ‘काठमाडौं उपत्यकामा ५१ करोड लिटर पानीको डिमाण्ड छ । त्यो पुर्याउने कसरी रु सरकारको दीर्घकालीन समस्याको योजना के छ ? त्यसको लागि खानेपानी मन्त्रालय अघि बढिसकेको छ । हामी तत्काल २५ करोड ५० लाख लिटर क्षमता भएको प्लान्ट सुन्दरीजलमा टेण्डर हुन गइरहेको छ । त्यो यही १५ दिनभित्र जतिमा हुन्छ ।

त्यो २५ करोड ५० लाख लिटर मेलम्चीको पानी आयो भने समस्या केही समाधान हुन्छ । अहिले १७ करोड लिटर रहेको छ । पानी केही त हामीले अहिले बागमतीमा डाइभर्ट गरेका छौँ । केही पाइपको समस्याका कारण बागमती सफाइ गरिरहेका छौँ । ४ महिना पानी नआउँदा खानेपानी मन्त्रालय के गर्छ ? त्यो ५१ करोड लिटरको पानीको माग छ । ट्याङ्करवाला भाइलाई मजा भइहाल्छ । हामीले शिवपुरी राष्ट्रिय निकुञ्जका सानातिना मुहानमा २५ करोड जति खर्च गर्ने हो भने केही हल हुन्छ नै ।

अहिले ६ दिनमा पानी दिइरहेका थियौँ । कतै त १५ दिनमा पानी दिने गरेको रहेछ । १५ दिनमा पानी दिँदा कसरी नागरिक बाँच्छ । नागरिकप्रति राज्यको दायित्व यही हो । सानो मुहानबाट पनि पानी ल्याउने सोचमा छौँ । ट्याङ्करमा पानी हाल्न इआइए नचाहिने, सरकारलाई नागरिकका लागि पानी दिन इआइए चाहिने । मन्त्री अलि छिटो छिटो चेन्ज हुने के ।

मन्त्री आज त्यो, भोलि त्यो । मान्छेको दिमागमा मन्त्रीको नाम नै भुलिसकेछन् । तर यो सरकार मजबुत सरकार छ । यो सरकारको आयु लामो छ । यो सरकार छिटो हिल्दैन । तपाईँहरूको यो समस्या मेरो कार्यकालमा समाधान गरेर मात्रै बिदा हुन्छु ।’

उनले अहिलेको सरकार मजबुत सरकार भएकाले यो सरकारको आयु लामो भएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *