देश

एयर इन्डियाको जहाजमा बम राखिएको सूचना, खानतलासी जारी

काठमाडौँ । काठमाडौँबाट भारतको दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखिएको सूचना आएको छ।

नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले दिल्ली उड्न लागेको जहाजमा बम राखिएको सूचना आएको जानकारी दिए।उनका अनुसार यसबारे बुझ्ने काम भइरहेको छ।

आज अपराह्न ३: १२ बजे एयर इन्डिया २१५ जहाज अवतरण गरेको थियो। उक्त जहाज अवतरण भइसकेपछि १६९ मध्ये ४० जना यात्रु चढिसकेपछि एयर इन्डियाको सेक्युरिटी म्यानेजरलाई इन्डियाबाट अपरेशन कन्ट्रोल एन्ड कमान्ड सेन्टर (ओसिआइआई) बाट बम छ भनेर कल आएको उनले बताए ।

नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले जाँच गरिरहेका छन्। उक्त जहाज आज अपरान्ह ३:५० बजे उड्ने तयारी थियो ।

यसअघि कात्तिक ६ गते दिल्लीबाट काठमाडौंका लागि उडेको भिस्तारा एयरलाइन्समा बम राखिएको सूचना आएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *