देश

कृषिमा नयाँ सोचका साथ काम गर्न आवश्यक : मन्त्री अधिकारी

नेपालगन्ज ।कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले गरिब र निमुखा जनताको जीवनस्तर उकास्ने गरी नयाँ सोचका साथ काम गर्न आवश्यक रहेको बताएका छन्।

नेपाल कृषि अनुसन्धान परिषद् कृषि अनुसन्धान निर्देशनालय खजुराको आज निरीक्षण गर्दै मन्त्री अधिकारीले किसानसँग नजिक हुने र उत्पादन वृद्धि गर्ने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले कृषि वैज्ञानिक र प्राविधिकहरूलाई नयाँ नयाँ रोग र समस्या पत्ता लगाउनतर्फ केन्द्रित हुन आग्रह गरे। “कृषि वैज्ञानिक र प्राविधिकहरू कृषि कर्म गर्नेहरूका अभिभावक हो, त्यसैले उहाँहरूसँग निरन्तर साक्षात्कार गर्नुस्,” मन्त्री अधिकारीले भने,”कृषि सुधार्न तपाईंहरुको अहम् भूमिका छ।”

मन्त्री अधिकारीले कृषि विकासमा देखिएका थुप्रै समस्या सुधार गर्न प्रयत्न भइरहेको बताए। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का समस्या चाँडो भन्दा चाँडो व्यवस्थापन गर्ने गरी काम भइरहेको उनले जानकारी दिए। नार्कमा देखिएको जनशक्ति अभावलाई सम्बोधन गर्न नसकिएको स्विकार्दै मन्त्री अधिकारीले यसमा पनि काम भइरहेको बताए।

नार्क आफैँमा ऐतिहासिक पृष्ठभूमि बोकेको संस्था भएर पनि लथालिङ्ग र विचलित अवस्थामा पुग्नु दुःखद् भएको उनले टिप्पणी गरे। मन्त्री अधिकारीले आत्मालोचना, आत्म मूल्याङ्कन र आत्म समीक्षा गरेर आ-आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाउन कर्मचारीलाई आग्रह गरे।

यसै गरी खजुरामै रहेको कोसेबाली अनुसन्धान कार्यक्रमको पनि मन्त्री अधिकारीले निरीक्षण गरे। कार्यक्रम संयोजक डा. अनिल पोख्रेलले कार्यक्रमबारे जानकारी गराएका थिए। मन्त्री अधिकारीले नेपालगन्ज दुग्ध वितरण आयोजना कोहलपुरको पनि अवलोकन गरे। यस्तै कृषिमन्त्ती अधिकारीले नेपालगञ्ज दुग्ध वितरण आयोजनाको निरिक्षण समेत गरेका छन् । सो निरिक्षणका क्रममा आयोजना प्रमुख दिलिप चौधरीले मन्त्री अधिकारीलाई माग पत्र हस्तान्तरण गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *