काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विकास र वातावरण संरक्षणका काम सँगसँगै अगाडि बढाउनुपर्ने बताएका छन् ।
नेपाल वातावरण पत्रकार समूह (नेफेज)को नवनिर्वाचित कार्यसमितिसँग आज मन्त्रालयमा भएको भेटमा उहाँले विकास निर्माण गर्दा वातावरण संरक्षणसँगै बहुसङ्ख्यक जनताको हित पनि हेर्नुपर्ने उल्लेख गरे ।
सरकारका प्रवक्ता मन्त्री गुरुङले भने, ‘विकास निर्माण गर्दा केही रूख काट्नुपरे पनि त्यसको कैयौँ गुणा वृक्षारोपण गरेर विकासमा आउने बाधा अवरोध हटाउनुपर्छ । त्यसका लागि कानुनी व्यवस्था र कार्यान्वयनमा आवश्यक सुधार गर्न जरुरी छ ।’
कानुन देखाएर विकास निर्माणमा अवरोध गर्ने र आयोजनाका नाममा जथाभावी रूख कटान गर्ने दुवै कार्य उचित नभएको धारणा व्यक्त गरे । मन्त्री गुरुङले पहिलेको तुलनामा नीतिगत रूपमा स्पष्टता आएको र कानुनी प्रावधानमा पनि सुधार भएको उल्लेख गर्दै जलवायु परिवर्तनका मुद्दामा सचेतना बढे पनि प्रचलित नारामा बहकिएर चर्चा कमाउनेभन्दा काम गर्ने व्यक्ति कम भएको जिकिर गरे ।
‘नेपालको कार्बन उत्सर्जनमा नगण्य योगदान भए पनि जलवायु परिवर्तनका असरबाट बढी प्रभावित हुनुपरेको छ । यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले गत महिना संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय मञ्चमा प्रष्ट कुरा राखिसक्नुभएको छ’, उनको भनाइ थियो ।
मन्त्री गुरुङले जलवायु परिवर्तनले नेपालको वातावरणमा पारेको प्रभावलगायत विषयलाई अन्तर्राष्ट्रियकरण गरेर क्षतिपूर्तिका लागि विश्व जगत्लाई आह्वान गर्नुपर्नेमा जोड दिए । त्यस अवसरमा नेफेजका अध्यक्ष चन्द्रशेखर कार्कीले संस्थाको कामकारबाहीका बारेमा जानकारी गराउँदै नेफेजको कार्यालय भवनको निर्माण कार्य बाँकी रहेकाले त्यसमा थप सहयोगका लागि आग्रह गरे ।