देश

काठमाडौँको स्वर्णलक्ष्मीबाट रवि लामिछानेले दुईपटक ऋण लिएको प्रहरीको निष्कर्ष , अनुसन्धानका लागि ३५ थान भौचर बरामद

काठमाडौं । काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनबारे काठमाडौँ प्रहरीले अनुसन्धान अघि बढाएको छ । अनुसन्धानका लागि प्रहरी वृत्त कालिमाटीको फाइल भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँ मगाएको छ ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका ६४५ जना बचतकर्ताले आफुहरुले बचत गरेको रकम हिनामिना भएको भन्दै उक्त रकम फिर्ताको माग सहित आरोपितलाई कारबाही गर्न प्रहरीमा उजुरी दिएका थिए । स्वर्णलक्ष्मीबारे अनुसन्धान भइरहेको काठमाडौँका एसएसपी वसन्त रजौरेका अनुसार उक्त सहकारीमा भएको रकमका बारेमा अनुसन्धान भइरहेको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था २७ हजार बचतकर्ता रहेका थिए।

अध्यक्ष जीबी राई भएको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीमाथि अनुसन्धान जारी छ । फरार सुचीमा रहेका राईविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘ईन्टरपोल’बाट रेड नोटिस जारी भएको छ । पोखरास्थित सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा जीबीलाई प्रतिवादी कायम गरेर अदालतमा मुद्दा दायर गरिएको छ ।

स्वर्णलक्ष्मीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पनि दुईपटक ऋण लिएर फिर्ता नगरेको भेटिएपछि पोखराको सुर्यदर्शन सहकारीमा पक्राउ परेका लामिछानेमाथि थप स्वर्णलक्ष्मी संस्थामा पनि प्रहरीले अनुसन्धान जारी राखेको हो । उक्त संस्थाबाट जीबी र रविले संयुक्त नाममा ऋण लिएको अनुसन्धानमा संलग्न अधिकृतहरुले बताएका छन् । २०७८ भदौ ४ मा उनीहरुले ‘फोर ह्विलर लोन’ र २०७८ कार्तिक १ मा ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न भनेर ऋण निकासा गराएको भेटिएको छ । ‘फोर ह्विलर लोन’ बापत ४६ लाख ९८ हजार लिएको तर, ३२ लाख २१ हजार फिर्ता नगरेको स्वर्णलक्ष्मीमा तथ्याङ्क फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै, ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न ४६ लाख ८८ हजार लिएर २९ लाख ५२ हजार नतिरेको अनुसन्धानबाट खुलेको छ । स्वर्णलक्ष्मीबाट गैह्रकानुनी रुपमा रवि र जीबीसहितको नाममा प्रवाह भएको लोनको ३५ थान भौचर प्रहरीले बरामद गरेको छ ।स्वार्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले निष्कर्ष निकालेको छ । २७ हजार निक्षेपकर्ताले सो सहकारीमा २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको सहकारीको रेकर्ड फाइलबाट फेला परेको हो ।

..
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपमा जीबी राईका साढु भाइ दीपक लामासहित २४ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । काठमाडौँ महानगरपालिका–३ जोरपाटी बस्दै आएका दीपक लामा पोखरास्थित सूर्यदर्शन र बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनमा पनि संलग्न देखिएका छन् । पोखरा र रुपन्देहीबाट पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

स्वर्णलक्ष्मीका कोषाध्यक्ष कुमार रम्तेल पोखरास्थित जिल्ला कारागार कास्कीमा थुनामा छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले कोषाध्यक्ष रम्तेललाई समेत बोलाएर बयान लिने तयारी रहेको जानकारी दिए । जीबी राई, कुमार रम्तेल, व्यवस्थापक नवीन अछामी र दीपक लामासहित २४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जीबीभन्दा अगाडि उनका साढु भाइ दीपक स्वर्णलक्ष्मीको अध्यक्ष थिए ।

नयाँ कृषि सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेर थुनामुक्त भएका नवीन अछामी अहिले फरार छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *