काठमाडौँ । अर्थ समितिका सभापति सन्तोष चालिसेले देशमा सबैभन्दा ठुलो आवश्यकता इमानदारिता भएको बताएका छन् ।
बुधवार सिंहदरबार वैद्यखानाको ३० औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सिंहदरबार वैद्यखानालाई सबै मिलेर सञ्चालन गर्नुपर्ने बताए । उनले ३७५ वर्षअघि स्थापना भएको सिंहदरबार वैद्यखाना अहिले धराशायी बन्नु दुःखद भएको बताए ।
उनले १५० किसिमका औषधिहरू बनाउने वैद्यखाना अहिले शून्य सरह बन्नु दुःख लागेको बताए । उनले लामो समय धराशायी भएको संस्थालाई सञ्चालन गर्ने प्रयास गर्नु नै राम्रो कदम भएको बताए । उनले सबैमा गरौँ भन्ने भावना जागृत गर्नसके देश विकास गर्न सम्भव नहुने बताए ।
उनले भने ‘सबैभन्दा महत्त्वपूर्ण कुरा ३७५ वर्षअघि स्थापना भएको, प्रताप मल्लले स्थापना गरेको, कुनैबेला १५० किसिमका औषधिहरू व्यापक रूपमा बन्ने गरेको संस्था आज धराशायी भएको छ । आजको सबैभन्दा ठुलो आवश्यकता भनेको इमानदारिताको हो । स्वास्थ्यमन्त्री प्रदीप पौडेल आएपछि तपाईँहरूले तीन महिनाको हिसाबकिताब निकाल्नुस् । धेरै समय धराशायी भएको चिजलाई चाँडो भन्दा चाँडो उठाएर दौडाउन सकिएन तर प्रयास ठुलो कुरा हो । आज प्रयास भएको छ । एउटा गर्ने व्यक्तिले अर्को गर्ने व्यक्तिलाई सहयोग गर्नुपर्छ । हामी सबैको भावनामा गरौँ भन्ने भाव पलाउनु पर्छ ।’
सभापति चालिसेले एउटा गरौँ भन्ने व्यक्तिले अर्को काम गर्ने व्यक्तिलाई सहयोग गर्नुपर्ने बताए ।