देश

स्थानीय गाई पाल्ने चलन हराउँदै

काठमाडौं । धवलागिरि गाउँपालिका–७ को ताकम गाउँमा स्थानीय गाई पाल्ने चलन हराउँदै गएको छ । तीन सय ५० घर रहेको धवलागिरि–७ ताकम गाउँमा अहिले दुई घरमा मात्र गाईपालन गरिएको छ ।

धवलागिरि–७ काफलडाँडाका नेत्रप्रसाद पुनले गाई पाल्न छोडेको १५ वर्ष भयो । “थोरै दूध दिने १० वटा गाई पाल्नुभन्दा धेरै दूध दिने एउटै भैँसी पाल्दा सजिलो हुन्छ”, उनले भने , “करिब तीन दशक गाई पालेर लेकबेँसी गरेको सम्झँदै खनजोत गर्ने मिनिटेलर हलो भित्रिएपछि गोरुको पनि महत्व घट्यो । गाई पाल्ने चलन हरायो ।”

पूजाआजा र धार्मिक कार्यमा आवश्यकपर्ने दूध तथा गहुँतका लागि गाईका मालिकलाई पहिले नै भन्नुपर्ने स्थानीय ओमबहादुर घिमिरेले बताए । “हिजोआज धार्मिक कार्यका लागि आवश्यक पर्ने गाईको दूध र गहुँत नपाइने अवस्था आएको छ”, उनले भने , “गाई देखिन छाडे, गोरु पनि भेटिँदैनन् ।”

पहाडका गाउँघरमा स्थानीय जातका गाई भेट्टाउन मुस्कील पर्न थालेको छ । धार्मिक, सांस्कृतिक, जैविक र पर्यावरणीय महत्व बोकेका स्थानीय जातका गाईगोरु दुर्लभ हुन थालेका छन् । उत्पादनको लागत घटाउन र आम्दानी बढाउन उन्नत जातका व्यावसायिक पशुपालन उपयुक्त मानिन थालेपछि उन्नत जात र व्यावसायिकताले स्थानीय रैथाने जातका गाई गौशाला र मन्दिरमा सीमित हुन थालेका छन् ।

बढी दूध दिने उन्नत र वर्णशङ्कर जातका गाई र भैँसी पाल्ने तथा खेतबारी खनजोतका लागि ट्याक्टर र मिनिटेलर हलोको बढ्दो प्रयोगसँगै स्थानीय जातका गाई र गोरु पाल्ने चलन हराएको धवलागिरि–७ का इन्द्रलाल पौडेलले बताए ।

जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार जिल्लामा हाल २० हजारको सङ्ख्यामा गाई पालिएका छन् । फरकफरक जातका गाईपालन गरिएको भन्दै सबैको अलगअलग गणना र तत्थ्याङ्क भने नरहेको केन्द्रका नायब पशु सेवा प्राविधिक गणेश रिजालले बताए । “मिनिटेलर र ट्याक्टर भित्रिएपछि स्थानीय जातका गाईको सङ्ख्या घटेको छ”, उहाँले भन्नुभयो, “सरकारले पनि बढी दूध दिने गाईभैँसीमा जोड दिएकाले वर्णशङ्कर र उन्नत जातका गाई पाल्नेको सङ्ख्या बढ्ने र स्थानीय जातका घटेको देखिन्छ ।”

स्थानीय जातका गाईको महत्व

कृषि तथा पशुपक्षी विकास मन्त्रालयको अभिलेख अनुसार नेपालमा आठ प्रजातिका गाई छन् । म्याग्दीसहितका जिल्लामा पालिने गाईका जातलाई पहाडी भनिन्छ । पहाडी गाईहरु भूटान, सिक्किम र दार्जिलिङबाट नेपालमा भित्रिएका हुन् ।

दुई सयदेखि तीन सय किलोग्रामसम्म तौल हुने पहाडी गाईको रङ कालो, रातो, फुस्रो र टाटेपाटे हुन्छ । एक वेतमा एक सय ५० देखि दुईसय लिटरसम्म दूध दिन्छन् । पहाडी गाईको दूध पोषिलो र स्वास्थ्यकर मानिन्छ । याक, नाक र चौरी, लुलु, होलिस्टेन फ्रिजन, ब्रोन स्विस र शाही वाल नेपालमा पालिने गाईका अन्य जात रहेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

मानिस र गाईको दूधमा पाइने क्यारोटिन तत्व आँखा र मष्तिष्कका लागि महत्वपूर्ण मानिएको जिल्ला आयर्वेद स्वास्थ्य केन्द्रका कविराज निरीक्षक प्रेमप्रसाद गौतमले बताउनुभयो । “गाईको दूध सेवन गर्दा स्वास्थ्यलाई धेरै किसिमको फाइदा गर्ने र रोग लाग्नबाट बचाउने विभिन्न वैज्ञानिक अध्ययनबाट पहिचान भएको तथ्य हो”, उनले भने , “गाईबाट प्राप्त हुने पञ्चतत्व दूध, दही, घ्यू, गोबर र गहुँतको धार्मिक महत्वसँगै आयुर्वेद र चिकित्साशास्त्रमा समेत उपयोगी मान्ने गरिएको छ ।”

नेपालको संविधानको धारा ९ (३) मा गाईलाई राष्ट्रिय जनावरका रुपमा उल्लेख गरिएको छ । कानुनले नेपालमा गोवध गर्न प्रतिबन्ध लगाएको छ । गाईलाई समाजमा संरक्षणको दृष्टिले हेर्ने गरिएकाले पनि गाईको धार्मिक एवं सांस्कृतिक महत्व रहेको बेनी नगरपालिका–१ स्थित श्रीलक्ष्मीहरि मन्दिरका महन्थ हिमालय बाबाले बताए ।

“गाईलाई धर्म र संस्कृतिसँग मात्र जोडेर बुझ्नु हुदैन”, उनले भने , “जैविक विशेषता बोकेका वैदिक गाईको नष्ल नेपालको जैविक सम्पत्ती हो । यसलाई बचाउन राज्य र समाजले विशेष ध्यान दिनुपर्छ ।” स्थानीय गाईको गोबर, गहुँत खेतीबारीमा मात्र होइन औषधिय कार्यमा पनि उपयोग हुने उनले उल्लेख गरे ।

हिन्दू धर्मावलम्बीहरुका लागि गाई जन्मदेखि मृत्युसम्म आवश्यक जनावरका रुपमा मानिन्छ । हिन्दू धर्मावलम्बीले लक्ष्मीका रूपमा गाईलाई पूजा गर्छन् । गाईको सेवाबाट ऋषि, महर्षी, राजर्षीहरुले शक्ति र सौभाग्य प्राप्त गरेको प्रसङ्गहरु पुराणमा उल्लेख गरिएका छन् । गाईको गोबरले घर लिपपोत गरेमा विभिन्न किटाणु नष्ट गर्ने शक्ति हुने भएकाले प्रयोग गर्ने गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *