काठमाडौं । हङकङ सिक्सेजमा नेपाल श्रीलंकासँग पराजित भएको छ । शनिबार दिउँसो मोङ कोकमा भएको क्वार्टरफाइनल खेलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको हो ।
टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको श्रीलंकाले पूरै ६ ओभर खेलेर दुई विकेटको क्षतिमा १२३ रन बनाएको थियो । श्रीलंकाका लागि सन्दुन विराक्कोडीले ५०, कप्तान लिहुरु मधुशंकाले अविजित ३१ रन, लाहिरु समाराकूनले २२ र थानुका दबारेले १८ रन बनाए ।
नेपालका लागि प्रतीश जीसी र नारायण जोशीले १–१ विकेट लिएका थिए । जवाफी ब्याटिङमा आएको नेपालले पाँच ओभरमा ८३ रन मात्र बनाउन सक्यो । नेपालका लागि रशिद खानले सर्वाधिक ५५ रन बनाए पनि हार टार्न सकेनन् । नारायण जोशी १३ रन, लोकेश बमले ६ र विवेक यादवले पाँच रन बनाए ।
श्रीलंकाका लाहिरु समाराकून र थारिन्दु रथनायकेले दुई–दुई विकेट तथा धनञ्जय लक्षन र मधुशंकाले एक–एक विकेट लिए । यसअघि नेपालले इंग्ल्यान्ड र अस्ट्रेलियालाई हराएको थियो ।