कला/साहित्य

केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण

काठमाडौं । लेखक विजयराज आचार्यको वरिष्ठ कलाकार केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ कृति लोकार्पण गरिएको छ । नेपाल बालसाहित्य समाजद्वारा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ कलाकार हरिप्रसाद शर्मा तथा पूर्वमन्त्रीत्रय शङ्करप्रसाद कोइराला, प्रदीपकुमार ज्ञवाली, रघुजी पन्तलगायतले विमोचन गरे ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकूलपति कर्मचार्यले नेपालको कला क्षेत्रमा ६० बर्षदेखि क्रियाशील छन् । कृतिमा उनले कला क्षेत्रमा पुर्‍याउनु भएको योगदानको वर्णन गरिएको छ । त्यसअवसरमा वरिष्ठ कलाकार शर्माले राज्यले कलाक्षेत्रको विकास र विस्तारमा ध्यान नदिएका कारण कलाकार खेतालाजस्ता हुनुपरेको भनी रोष प्रकट गरे ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलाकारको जीवनीमा आधारित पुस्तक प्रकाशनले व्यक्तित्वको सामाजिकीकरणको पाटोमा सफल अभ्यास भएको प्रतिक्रिया दिए । पूर्वमन्त्री एवं साहित्यकार ज्ञवालीले कलाको माध्यमबाट कर्मचार्यले सामाजिक जागरण र राष्ट्रिय एकता कायम गर्न गरेको योगदानको चर्चा गरे ।

साहित्यकार कोइरालाले समाजमा विशिष्ट योगदान पुर्‍याउने व्यक्ति र व्यक्तित्वको जीवनी, व्यक्तित्व र कृतित्व सार्वजनिक हुन आवश्यक रहेको धारणा राखे । वरिष्ठ पत्रकार पन्तले चित्रकलाले देश र समाजको संस्कृति, रहनसहन, वेशभूषा, इतिहास र जीवनशैलीको यथार्थ चित्र गर्ने भएकाले यसको महत्त्वबारे भाविपुस्तालाई पर्याप्त जानकारी दिलाउन आवश्यक रहेको बताए ।

वरिष्ठ कलाकार कर्मचार्यले आफ्ना दाजु र सहपाठीको प्रेरणामा चित्रकला, मूर्तिकला र सिर्जनातर्फ लाग्न परेको घटना र परिवेश सुनाए । नेपाल बालसहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले कला र साहित्यलाई जोड्ने पुलका रूपमा बाल साहित्यले काम गरिरहेको बताए ।

लेखक आचार्यले नेपालको कलाक्षेत्रको विशिष्ट साधक कर्मचार्यको जीवनीमा आधारित पुस्तक प्रकाशन गर्ने कार्यलाई आफूले एउटा अवसरका रूपमा लिएको धारणा राखे । प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले नेपाली कलाक्षेत्रका क्षेत्रमा छ दशक योगदान दिने व्यक्तिको जीवनीमा आधारित पुस्तक प्रकाशित हुनुलाई कला क्षेत्रकै सम्मानका रूपमा लिएको बताए ।

वरिष्ठ लेखक एवं प्राज्ञ जीवेन्द्रदेव गिरिले कर्माचार्यलाई अहिलेको अवस्थामा आइपुग्ने केकस्ता विषय र घटनाले मलजल गरेको छ भन्ने नालीबेली पुस्तक अध्ययनबाट प्राप्त गर्न सकिने प्रतिक्रिया दिए । साहित्यकार मुकेश मल्लले कला र साहित्यलाई एक–अर्कालाई जोड्ने कार्यले सिर्जना कलात्मक हुनकासाथै गुणस्तरमा पनि सुधार ल्याउन योगदान पु¥याउने धारणा राखे ।

बाल्यकालदेखि नै कलाक्षेत्रमा रुची राख्ने कर्मचार्य शुरुआति दिनमा नाटक खेल्ने र चित्र कोर्दै यस क्षेत्रमा लागेका थिए । अहिले उनले छ सयभन्दाबढी हुलाक टिकट डिजायन गर्ने विशिष्ट साधकको परिचय बनाइसक्नुभएको छ । छ दर्जनभन्दा बढी बालपुस्तकमा चिताङ्कन गरेका हजारौँ पुस्तकका लागि आवरण बनाइ सकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *