पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्तर्गत पर्वत खण्डमा पर्ने लमाएखोलाले बगाएको मोटरेबल पुल पुनःनिर्माण शुरु गरिएको छ ।
स्लाब ढलानको तयारी भएका बेला बाढीले सबै निर्माण सामग्री बगाएपछि पुल निर्माण रोकिएको थियो । कालीगण्डकी करिडोर आयोजना कार्यालयका अनुसार आगामी दुई सय दिन भित्र काम सम्पन्न गर्ने गरी निर्माण व्यवसायीलाई जरिवाना सहित काममा लगाइएको छ ।
बाढीले पुल सँगै निर्माण स्थलमा रहेका सयौँ बोरा सिमेन्ट, बालुवा, रड, फर्मा, पाइप र अन्य सामग्री बगाएको थियो । पुल दुई वर्षमा सम्पन्न गर्नेगरी २०७५ साल पुस देखि निर्माण शुरु भएको थियो ।
६० प्रतिशत काम सम्पन्न भएकामा बाढीले टेवा पर्खाल बाहेक सबै संरचनामा क्षति भएको थियो । २५ मिटर लामो र ११ मिटर चौडा यो पुलको लागत ५ करोड ८९ लाख ८९ हजार २ सय ७७ हो ।