देश

रवि लामिछानेको आजदेखि काठमाडौंमा बयान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का सभापति एवं पूर्वगृह मन्त्री रवि लामिछानेको आज (शुक्रबार)बाट जिल्ला सरकारी वकिल कार्यालयमा काठमाडौंमा बयान लिइँदैछ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका उनलाई बिहीबार साँझ काठमाडौं ल्याइएको हो । काठमाडौंको कालीमाटी स्थित स्वर्णलक्ष्मी बचत सहकारीको रकम अपचलनका विषयमा उनको बयान हुन लागेको हो ।

स्वर्णलक्ष्मी सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा लगेर अपचलन गरेको सम्बन्धमा जाहेरी परेपछि काठमाडौं प्रहरी परिसरले लामिछाने विरुद्ध मंसिर २ मा पक्राउ पुर्जी जारी गरेको थियो । उनलाई अहिले काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ ।

कास्कीमा जस्तै काठमाडौंमा पनि लामिछाने विरुद्ध सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ । काठमाडौंमा बयान सकिएपछि लामिछानेलाई कास्की नै फिर्ता लगिने छ । गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक लामिछाने पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा गत कात्तिक २ मा पक्राउ परेका हुन् ।

कास्की जिल्ला अदालतले आइतबार पाँचौपल्ट म्याद थप्दै १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा पनि जोडिएका लामिछानेलाई यसअघि रूपन्देही जिल्ला सरकारी वकिल कार्यालयमा पर्‍याएर बयान लिइएको थियो ।

साहारा चितवन सहकारीको रकम ठगीको अनुसन्धानमा लामिछाने लगायत विरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ । लामिछानेलाई चितवन लैजाने वा नलैजाने बारे निर्णय भइसकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *