विश्व

सिरियाली जिहादी समूहद्वारा अलेप्पोमा आक्रमण

बेरुत, लेबनान। जिहादी र उसका टर्की समर्थित सहयोगीहरूले शुक्रबार सिरियाको दोस्रो शहर अलेप्पोमा सरकारी सेनाविरुद्ध ठूलो आक्रमण गरेका छन् ।

बेलायतमा कार्यालय रहेको सिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स) का अनुसार यस हिंसामा २४२ जनाको मृत्यु भएको छ, जसमध्ये अधिकांश दुवै पक्षका लडाकुहरू थिए । मारिनेमामध्ये २४ जना सर्वसाधारण रहेका छन् र उनीहरू अधिकांश रूसी हवाई आक्रमणमा मारिएका बताइएको छ ।

हिजबुल्लाह र इजरायलबीच यसै हप्ताको सुरुमा छिमेकी लेबनानमा कमजोर युद्धविराम लागू भएको समय सिरिया र यस क्षेत्रका लागि संवेदनशील समयमा आक्रमण सुरु भएको हो ।

सिरियामा सन् २०११ मा राष्ट्रपति बशर अल असदको सेनाले प्रजातन्त्र पक्षधर प्रदर्शनमा कडाइ गरेपछि गृहयुद्ध सुरु भएको थियो ।

त्यसयता सिरियामा पाँच लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ, लाखौँ मानिस विस्थापित भएका छन् र देशको पूर्वाधार र उद्योगधन्दामा व्यापक क्षति पुगेको छ ।

पछिल्ला वर्षहरूमा यो द्वन्द्व जिहादी र असदका सहयोगी रूस, इरान र हिजबुल्लाहलगायत विदेशी शक्तिहरूबीच जटिल युद्धमा परिणत भएको छ।

सेनाले युद्धमा गुमेको अधिकांश भूभागमा पुनः नियन्त्रण कायम गरे पनि जिहादी र उनीहरूका सहयोगीहरू रहेको क्षेत्रमा सन् २०२० देखि युद्धविराम शुरू भएको थियो ।

सिरियासँगको छिमेकी र असद विरोधी विद्रोहलाई समर्थन गर्ने टर्की समर्थित जिहादी र अन्य समूहले यसै साता सरकारी सेनाविरुद्ध ठूलो आक्रमण सुरु गरेका थिए ।

–छात्रावासमा आक्रमण हुँदा चार विद्यार्थीको मृत्यु–

उत्तरी सिरियाको मुख्य शहर अलेप्पोमा रहेको सरकारी नियन्त्रित अलेप्पोस्थित एक विश्वविद्यालयको छात्राबासमा शुक्रबार भएको आक्रमणमा परी चार जना सर्वसाधारणको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’का अनुसार शुक्रबारसम्ममा उनीहरूले उत्तरी सिरियाका ५० भन्दा बढी शहर र गाउँहरू कब्जा गरिसकेका छन्।

लडाकू समूहले बिहीबार अलेप्पोलाई सिरियाको राजधानी दमास्कससँग जोड्ने राजमार्गमा आवागमन अवरूद्ध बनाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *