देश

सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रका रूपमा विकास गरिने

काठमाडौं । सरकारले काठमाडौंको शङ्खरापुर नगरपालिकाकाे साँखुमा रहेको सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रका रूपमा विकास गर्ने भएको छ ।

अस्पतालका संस्थापक देशीय निर्देशक हाइन स्टालको बिदाइ तथा नयाँ देशीय निर्देशक अल्बर्ट बेन्जिनको स्वागत गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पताललाई जलन अस्पतालका रूपमा विकास गरिन लागेको जानकारी दिएका हुन् ।

सरकारले भर्खरै देशभरका आठ वटा अस्पताललाई जलन उपचार गर्न सकिने अस्पतालका रूपमा घोषणा गरेको र त्यसमा सुस्मा कोइराला अस्पताललाई समेत थप गर्ने उनले बताए । यस्तै शङ्खरापुर नगरपालिकाका मेयर रमेश नापितले सबैभन्दा पुरानो जलन अस्पतालका रूपमा सुष्मा कोइराला मेमोरियल अस्पताल रहेको उल्लेख गर्दै जलनका बिरामी उपचारका लागि बाहिर जानुपर्ने अवस्था नरहेको बताए ।

जलनको उपचारका लागि नेपालकै पहिलो अस्पतालका रूपमा २०५४ सालमा सुस्मा कोइराला मेमोरियल अस्पतालको स्थापना भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *