पत्रपत्रिकाबाट

ललिता निवास मुद्दा : कस-कसलाई तोकियो एक अर्बभन्दा बढी बिगो ?

काठमाडौं । ललिता निवासको १ सय ४३ रोपनीभन्दा बढी जमिन हिनामिना प्रकरणको आरोप लागेका कतिपयले तिर्नुपर्ने बिगो करोडमा होइन, अर्बमा दाबी गरिएको छ ।

ललिता निवास जग्गा किर्ते प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानपछि सरकारी वकिल कार्यालयले सबैभन्दा बढी रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई जनही ६ अर्ब ८४ करोड २६ लाख बिगो माग गरेर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको गरेको छ ।

त्यसैगरी भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसँग ४ अर्ब ९१ करोड ८१ लाख, उमाकुमारी ढकाल्नीसँग २ अर्ब ९२ करोड ११ लाख, हाटक शमशेर जबरा २ अर्ब ८९ करोड ९० लाख र माधवी सुवेदीसँग २ अर्ब ८८ करोड ४० लाख बिगो माग गरिएको छ ।

त्यसैगरी श्रवणकुमार गोयल, शिवरतन शारदा, सन्दिपकुमार शारदा र कैलाशचन्द्र गोयलसँग जनही २ अर्ब २४ करोड ३६ लाख, सरस्वती घलेसँग १ अर्ब ३८ करोड २८ लाख र घमनकुमार कार्की-१ अर्ब ८ करोड बिगो माग गरिएको छ ।

यो प्रकरणमा चारजना पूर्वमन्त्री, ७ जना पूर्वसचिव एक बहालवाला सचिव र एक सहसचिवसमेत परेका छन् । यीमध्ये सबैभन्दा बढी पूर्वभौतिक योजना मन्त्री चन्द्रदेव जोशीसँग ६३ करोड १० लाख बिगो माग गरिएको छ ।

पूर्वउपप्रधान तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदारसँग १० करोड ५१ लाख माग गरिएको छ । पूर्वभूमिसुधार मन्त्री डम्बर श्रेष्ठसँग र पूर्वभौतिक योजना राज्यमन्त्री सञ्जयकुमार साहसँग १० करोड ५१ लाख रुपैयाँ बिगो मागिएको छ । सबैलाई सरकारी जग्गा किर्ते गरेको आरोप लागे पनि कसुरअनुसार बिगो भने फरक-फरक कायम गरिएको हो ।

त्यसैगरी पूर्वभूमिसुधार सचिव युवराज भुसालसँग १ करोड ८ लाख, पूर्वभूमिसुधार सचिव छविराज पन्तसाग १० करोड ५१ लाख, पूर्वभौतिक योजना सचिव दीप बस्न्यातसँग १० करोड ५१ लाख, पूर्वभूमिसुधार सचिव दिनेशहरि अधिकारीसँग १ करोड ८ लाख, पूर्वभूमिसुधार सचिव रवीन्द्रमान जोशीसँग १ करोड ८ लाख र पूर्वसचिव नारायणगोपाल मलेगोसँग ११ करोड ५९ लाख रुपैयाँ बिगो माग गरिएको छ ।

त्यस्तै सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतसँग १० करोड ५१ लाख र गृह मन्त्रालयका सहसचिव सुशील वैधसँग १ करोड ८ लाख रुपैयाँ बिगो भराउन माग गरिएको छ । यो प्रकरणका अभियुक्तमध्ये सबैभन्दा कम बिगो नै १ करोड ८ लाख रुपैयाँ छ ।कान्तिपुर 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *