संसद

भ्रष्टाचारको सबै फाइल खोलौँ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले २००७ सालदेखिकै भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बतएका हुन् ।

विगतदेखि नै नेपाली कांग्रेसका नेतासमेत भ्रष्टाचारको आरोपमा जेल गएको स्मरण गर्दै उनले भने, ‘कुनै विपक्षी पार्टीका नेतालाई तान्ने लक्ष्यसहित नभई भ्रष्टाचारको स्पष्ट छानबिन गरौँ । भ्रष्टाचारको स्पष्ट छानबिन गरेर सबै फाइल खोलौँ ।’

महामन्त्री शर्माले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्दोषलाई फसाउने षड्यन्त्र भइरहेको छ भन्ने अभिव्यक्ति दिएको प्रति आपत्ति जनाए । ‘ओलीले दोषीलाई उम्क्याउन खोजिँदैछ भन्दै गरेको कुरामा आफूले समर्थन गर्न सकेपनि निर्दोषलाई फसाइँदैछ’ भन्ने अभिव्यक्तिले अनुसन्धान प्रभावित बन्नसक्ने उनको भनाइ छ ।

‘केही दिनअघि सम्माननीय पूर्वप्रधानमन्त्री एवं विपक्षी दलका नेता केपी शर्मा ओलीले यो रोष्टममा उभिएर नक्कली भुटानी शरणार्थीको प्रकरणमा उभिएर बोल्दै गर्दा राख्नुभएका अन्य विषयमा म सम्मानपूर्वक समर्थन गर्दछु । दोषीलाई उम्क्याउन खोजिँदैछ भन्दै गरेको कुरामा पनि त्यो आशङ्कामा पनि राज्यले गम्भीरतापूर्वक ध्यान देला नै । सँगै म निर्दोष फसाउने प्रयास भइरहेको भन्ने वाक्य उल्लेख गर्नुभयो,, शर्माले भने, ‘अन्यत्र कहीँ भन्नुभयो रे होइन, यही रोष्टममा उभिएर भन्नुभयो । को दोषी को निर्दोषी नेपाल प्रहरीले छानबिन गरिरहेको छ । यो बेला सरकारलाई साथ दिने समय हो, यो बेला सरकार बाहिरको दलले पनि सरकारलाई साथ दिने समय हो, समर्थन फिर्ता लिने बेला होइन । रोष्टममा उभिएर मुद्दामा परेका कसैलाई पनि न विगतमा हामीले निर्दोष भन्यौँ, न आज भन्छौँ, केवल यति भन्छौँ, अनुसन्धान र न्यायिक प्रक्रियामा कसैले प्रभावित गर्ने गरी बोल्नु हुँदैन ।’

उनले नीति तथा कार्यक्रमको शैलीमा परिवर्तन ल्याउनुपर्ने समेत बताए । शर्माले यो कार्यक्रम बिरालो बाँध्ने परम्परा धान्ने खालको नीति तथा कार्यक्रमको शैली नै परिवर्तन गर्नुपर्ने बताए । महामन्त्री शर्माले प्रत्येक वर्ष आउने नीति तथा कार्यक्रम पुरानो शैलीको भएकाले जनताको अवस्था बदल्ने खालको नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *