
काठमाडौं । लुम्बिनी प्रदेशमा सोमबार मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।
सोमबार अपराह्न ४ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण कार्यक्रम तय भएको छ । रिक्त चारमध्ये दुई मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारी छ । कांग्रेसबाट राजु खनाल र जसपाबाट भण्डारीलाल अहिर मन्त्री बन्दै छन् ।
तर, लुम्बिनी सरकारले सोमबार पनि पूर्णता पाउनेछैन । यहाँ कांग्रेस र माओवादीबाट दुई–दुई मन्त्री नियुक्त हुन बाँकी छन् । यसअघि मन्त्री भएका नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
कांग्रेसले मुख्यमन्त्रीसहित चार, माओवादीले तीन मन्त्रालय पाउने सहमति भएको छ । जसपा, लोसपा र नाउपाले भने एक–एक मन्त्रालय पाएका छन् ।
लुम्बिनीमा १० मन्त्रालय छन् । विनाविभागीय मन्त्री सन्तोषकुमार पाण्डेयका अनुसार आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको संख्या थपघट नगर्ने र राज्यमन्त्री पनि नराख्ने निर्णय गरेको छ ।
अघिल्लो कार्यकालमा लुम्बिनीमा १३ मन्त्रालय र १७ मन्त्री बने पनि यसपटक तत्कालीन मुख्यमन्त्री लीला गिरीले मन्त्रालयको संख्या १० मा झारेका थिए ।