राजनीति

मुद्दा दर्ता नहुँदै आरोपीको बयान छताछुल्ल

काठमाडौं । नक्कली शरणार्थी प्रकरणले लहरो तान्दा पहरो थर्किने देखिएको छ । अनुसन्धान अन्तिम चरणमा आएका नाम र पोलिएका व्यक्तिको सूची हेर्दा कोही पनि चोखो देखिँदैनन् ।

त्यसमाथि आरोपीका बयान लाख र करोडभन्दा तल त देखिँदै देखिन्न । यति ठूलो रकम कुन माध्यमबाट कसरी लेनदेन भयो भन्ने अझै खुलेको छैन । पक्कै पनि यति ठूलो काण्डमा बैंकिङ कारोबार नहुनु पर्ने हो । यदि भएको हो भने सबै आरोपीको सम्पत्ति छानबिन र बैंक खाता रोक्का गरेर अनुसन्धान गर्नै पर्ने हुन्छ ।
तर अहिले सबैभन्दा बढी चासोको विषय भनेको प्रहरी हिरासतमा रहेका आरोपीको बयान मिडियामा छताछुल्ल कसरी भयो ? कसले यस्तो काम गर्दैछ ? भन्ने हो । हिजो बयान दिइसकेका आरोपीको पुनः बयान लिँदा बोली फेरिएको देखिन्छ । यसले ठगीकाण्डको अनुसन्धान प्रभावित पार्ने संकेत देखिएको छ । अहिले आरोपीको बयान प्रहरी र सरकारी वकिलसँग मात्र सुरक्षित छ । तर ठेलीका ठेली मिडिया र नेताहरूको घरसम्म पुगेको भेटिएको छ ।

जबकि अहिलेसम्म आरोपीहरूविरुद्ध अदालतमा मुद्दा नै दर्ता गरिएको छैन । मुद्दा दर्ता नहुँदै ठगीकाण्डमा दिनहुँ नयाँ नाम पोलिँदै आएको छ ।पछिल्लो समय गिरोहका सानु भण्डारी र केशव दुलालको बयानले सबैको निद हराम भएको छ । यस्तै, टोपबहादुर रायमाझीले रामबहादुर थापा बादलको पनि नाम लिएका छन् । गिरोहका सदस्य भण्डारीले बादलकी श्रीमती नैनकला थापाको नाम लिएकी छन् ।

केशव दुलालले त अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईको गाडीमा एक करोड हालेको बयान दिएका छन् । तर पनि अहिलेसम्म राईले आफूमाथि लागेका आरोपबारे मुख खोलेका छैनन् । अख्तियार अर्धन्यायिक निकाय पनि हो । संवैधानिक अंगका प्रमुखमाथि ठगी आरोप लाग्दासमेत उनले उच्च नैतिक चरित्र देखाउन सकेका छैनन् ।

गिरोहका सदस्यले एमाले अध्यक्ष केपी ओलीका सचिवालयका राजेश बज्राचार्य, डा.अजयक्रान्ति शाक्यगलगायतको नाम लिएका छन् । ओलीकी श्रीमती राधिका शाक्य संरक्षक रहेको मानव सेवा आश्रमलाई दुई करोड बुझाएको उल्लेख छ ।

एमाले अध्यक्ष केपी ओलीकहाँ अडियो टेप पुग्नु, आरोपीका बयानको प्रतिवेदन नै पुग्नु र त्यसैलाई आधार बनाएर ओलीले दिनहुँ अभिव्यक्ति दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । ओलीले आफ्नो पार्टीका नेतालाई मात्र टार्गेट बनाएको आरोप लगाएका छन् । गिरोहका सदस्यले दिएको बयानका आधारमा प्रहरीले अनुसन्धान गरेको हो । तर प्रहरी निष्पक्ष अनुसन्धान गर्न चुकेको देखिन्छ ।

यदि आरोपीका बयान सार्वजनिक नगरी एकैचोटि अदालतमा मुद्दा दर्ता गरेको भए धेरै हदसम्म यो काण्डको पटाक्षेप लाग्ने थियो । तर अहिले कुनै आरोपीको बयान बाहिरिन छाडेको छैन । कतिसम्म भने सचिव टेकनारायण पाण्डे र आईजीपी बसन्तराज कुँवरको च्याटसमेत मिडियामा आइसकेको छ । त्यसैले अब आरोपी बचाउन राजनीतिक नेक्सस जोडिने खतरा देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *