राजनीति

शरणार्थी प्रकरणको अनुसन्धान सरकारको पनि अग्निपरीक्षा हो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापा नक्कली शरणार्थी प्रकरणको अनुसन्धान सरकारको पनि अग्निपरीक्षा भएको बताएका छन् । उनले यो प्रकरणलाई जनताले पनि सूक्ष्म ढंगले हेरिरहेको भन्दै न्यायको अनुभूति होस् भन्ने सबैको चाहना रहेको बताए ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद थापाले सरकारपछि न्यायालयको पनि अग्निपरीक्षा हुने बताए । ‘यो प्रकरणमा जो जो मान्छे जोडिएर आएका छन्, यसले लाज पनि लजाउने अवस्था आएको छ । सलामी गर्ने र सलाम गर्ने दुवै मुछिएका छन् । तपाई हामीले दैनिक देखिरहेका मानिस मुछिएका छन् । त्यसैले घर, बार्दली, नातागोता जो जो परे पनि सरकारले कारबाही गर्नुपर्छ । मैले अनुसन्धान राम्ररी गरिनँ भनेर सरकारले धर पाउँदैन,’ थापाले भने ।

न्यायालयले पनि कसरी यो प्रकरणलाई हेर्छ भन्ने जनताले हेरिरहेको उनको भनाइ छ । जो जो यसमा संलग्न छन् ती सबैमाथि कारबाही गर्नैपर्ने र सजायको भागीदार हुनैपर्ने उनले बताए ।

थापाले अर्को वर्षदेखि नीति तथा कार्यक्रम अहिलेकै ढर्रामा आए कुनै पनि सांसदले छलफलमा भागै नलिए हुने उनले बताए । अहिलेकै अवस्थाको नीति तथा कार्यक्रमले देशको विकास नहुने उनको भनाइ छ । उनले जम्मा पाँच पानाको नीति तथा कार्यक्रम ल्याउने र १० मिनेटमा पढेर सक्ने हुनुपर्ने उल्लेख गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *