राजनीति

एमालेभित्र हलचल: सधैं तम्सिने ओली आफ्नै स्वकीय सचिवले रकम बुझेको चर्चा हुँदा मौन

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रक्रियामा अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिवसहित नेताहरुको नाम मुछिएपछि एमालेको भूमिकामा संशय देखिएको छ । आफ्ना धारणा सार्वजनिक गर्न सधैं तम्सिने ओली आफ्नै स्वकीय सचिवले रकम बुझेको चर्चा हुँदा पनि यो विषयमा मौन छन् । तर प्रहरी हिरासतमा रहेकाहरुले एमालेका नेताहरुलाई नै करोडौं बुझाएको बयान दिएपछि पार्टीभित्र हलचल मच्चिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर हिरासतमा रहेका गिरोहका नाइकेमध्येका सानु भण्डारीले एमाले सरकारमा हुँदा काम मिलाइदिने नाममा सिंहदरबार, प्रधानमन्त्री निवासदेखि मन्त्री क्वार्टरसम्म पुगेर करोडौं बुझाएको बयान दिएपछि यो प्रकरणमा एमाले रक्षात्मक बनेको हो । आफ्नो नेतृत्वको सरकार ढलेपछि प्रतिवेदन हेरफेर गर्नेदेखि मानव बेचबिखन गर्ने धन्दा सुरु भएको तर्क गर्दै एमाले पन्छिन खोजिरहेको छ ।

तर, अनुसन्धानका लागि हिरासतमा रहेकाहरूले बयान दिँदा अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, ओली प्रधानमन्त्री रहँदाका सल्लाहकार अजयक्रान्ति शाक्य, उपाध्यक्ष एवम् तत्कालिन गृहमन्त्री रामबहादुर थापा, सांसद तथा थापा पत्नी नैनकला, छोरा प्रतीकलगायतको नाम लिएपछि एमालेमा थप नैतिक संकट देखिएको छ ।

शीर्ष नेता, परिवारका सदस्य तथा नेताका सहयोगीका नाम सार्वजनिक हुन थालेपछि एमालेले उल्टो प्रहरी अनुसन्धानलाई शंकाको दृष्टिकोणबाट हेरेको छ । केहीले भने नाम जोडिएकाहरू अनुसन्धानमा सहयोग पुर्याउन प्रहरी समक्ष आफैं उपस्थित हुनुपर्ने बताएका छन् ।

शरणार्थी प्रकरणमा एमालेका टोपबहादुर रायमाझी र कांग्रेसका बालकृष्ण खाण हिरासतमा छन् । एमालेले रायमाझीलाई निलम्बन गरेको छ भने कांग्रेसले त्यति पनि नैतिकता देखाएको छैन । तर अन्य नाम जोडिएका नेताहरूको हकमा एमाले मौन छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *