
काठमाडौं । राष्ट्रिय जनमोर्चाले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिने सरकारले गरेको निर्णयप्रति असन्तुष्टि जनाएको छ ।
चौधरीलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने खतरा देखिएको जनमोर्चाले दाबी गरेको छ ।
टिकापुर काण्डमा दोषी ठहर भई सर्वस्वसहित जन्मकैदको सजायँ भोगिरहेका चौधरीलाई प्रचण्ड नेतृत्वको वर्तमान सरकारले गणतन्त्र दिवसको दिन आममाफी दिने प्रक्रिया अघि बढाएको छ । जनमोर्चाले सो प्रक्रिया रोक्नका लागि माग गरेकोे छ ।
‘टिकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना थियो । त्यो घटनाका मुख्य नाइकेलाई गणतन्त्र दिवसको उपलक्ष्यमा आमाफी दिइ कैद मिनाहा गराउन सरकारले अगाडि बढाएको प्रक्रिया आफ्नो सरकार टिकाउन गरिएको राजनीतिक लेनदेन वा सौदावाजी मात्र हो,’ जनमौर्चाका अध्यक्ष चित्रबहादुर केशीले विज्ञप्ती जारी गर्दै यस्तो उल्लेख गरेका हुन् ।
थरूहट थारूवानले कैलालीको टिकापुरमा गरेको आन्दोलनले हिंसात्मक रूप लिँदा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो । त्यसको प्रमुख योजनाकारको रूपमा चौधरी १५ फागुन, २०७४ देखि थुनामा छन् । उनलाई अदालतले तोकेको जन्मकैदको सजाय अनुसार, २० वर्ष कैद भुक्तान गर्नुपर्ने थियो । माफी मिनाहाको प्रक्रिया कार्यान्वयन भए उनले करिब १५ वर्ष कैद सजाय मिनाहा पाउनेछन् ।