राजनीति

एमालेद्वारा रोस्ट्रम घेराउ, बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । शुक्रबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै माओवादी सांसद राजन दाहालले पशुपतिमा सुनको जलारी भनेर पितलको जलारी चढाएर एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गरेको आरोप लगाएपछि एमाले सांसदहरूले उठेर सदनको कामकारबाही अवरोध गरेको हो ।

त्यसपछि एमाले प्रमुख सचेतक पदम गिरीलाई सभामुखले बोल्न समय दिए। गिरीले पशुपतिको मन्दिरको गजुरका विषयमा एमालेलाई आधारहीन आरोप सत्तापक्षीय सांसदले लगाएकोमा उक्त रेकर्ड हटाउनुपर्ने र सांसदले माफी माग्नुपर्ने अडान राखेका थिए।

एमाले दलका उपनेता सुवासचन्द्र नेम्वाङले सत्तापक्षकै सांसदले गम्भीर आरोप लगाएकाले यसको रफादफा नगरी संसद् चल्न नसक्ने स्पष्ट पारे । सभामुख देवराज घिमिरेले पटक पटक सांसदहरूलाई बस्न आग्रह गरे पनि एमाले सांसदहरू मानेनन् । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेलाई सभामुखले बोल्न समय दिएपछि एमाले सांसदहरू रोस्ट्रम घेराउ गर्न पुगेका थिए ।

पटक पटक आग्रह गर्दा पनि एमाले सांसदहरुले नाराबाजी नराेकेपछि सभामुख घिमिरेल २० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *