राजनीति

नीति तथा कार्यक्रम पारित हुन नदिने एमाले रणनीति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ ।

शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक ढिला गरी साढे १२ बजे बसेको थियो । तर बैठक सुरु हुनेवित्तिकै एमाले प्रमुख सचेतक पदम गिरीले पार्टीका अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै सत्ता पक्षकै सांसदले पशुपतिमा सुनको जलहरी लगाउने भनेर पित्तलको लगाएर भ्रष्टाचार गरेको आरोप लगाएकाले त्यो आरोप पुष्टि गर्न वा माफी नमागेसम्म संसद् बैठक चल्न नदिने बताएपछि एमाले सांसदहरू आफू बसेको कुर्सीबाट उठेका थिए ।

माओवादीका सांसद राजन दाहालले ‘केपी शर्मा ओली सरकारका पालामा पशुपतिमा सुनको जलहरी लगाउने भनेर पित्तलको जलहरी लगाएर भ्रष्टाचार भएको’ आरोप जेठ १० गतेको बैठकमा लगाएका थिए। सोही विषयलाई लिएर एमालेले शुक्रबार सदन अवरोध गरेको हो । एमालेले नाराबाजी गर्दै रोस्ट्रम नै घेरेपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि बैठक स्थगित गरेका थिए । बुधबारको बैठकमा लगाएको आरोपपछि पनि प्रतिनिधिसभा बैठक आज शुक्रबार बसेको हो ।

बिहीबार सार्वजनिक बिदा भएकाले बैठक बसेको थिएन । तर बुधबारको बैठकमा एमालेले किन सुनको जलहरीको विषय उठाएन भन्ने प्रश्न उब्जेको छ । माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सभामुखसँग सेटिङ गरेर एमालेले नियोजित रूपमा शुक्रबारको बैठक अवरोध गरेको आरोप लगाएको छ ।

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत हुने कार्यसूची छ । त्यसअघि सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची छ । तर एमालेले सदन नै अवरोध गरेपछि कार्यतालिका प्रभावित बनेको छ । यदि आज नीति तथा कार्यक्रम पारित नभएमा सरकारलाई जेठ १५ गते बजेट ल्याउन अप्ठेरो हुने छ । भोलि शनिबार र त्यसपछि आइतबार एक दिन मात्र बाँकी रहन्छ । सोमबार त बजेट प्रस्तुत हुनैपर्छ । त्यसैले कतै बजेट ल्याउनै नदिन र नीति तथा कार्यक्रम पारित हुन नदिन एमालेले रणनीति त बनाएको होइन भन्ने आशंका उब्जेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *