
काठमाडौं । माओवादी सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी ओलीको नाम नलिइकनै पशुपति मन्दिरमा राखिएको जलहरीमा अनियमितताको आवाज उठाएका थिए ।
महालेखा परीक्षकको प्रतिवेदनले राज्यकोषबाट पैसा लगेर किनेको सुनको पूर्ण मात्रा प्रयोग नभएको बताएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि छानबिनको क्रममा छ ।
केपी ओलीको नामै नलिएको विषयमा एमालेले भ्रष्टाचारको आरोप लाग्यो भनेर संसदमा बितण्डा मच्चाएकै भरमा भ्रष्टाचारका शंकास्पद काण्ड डिसमिस हुने खतरा बढेको छ । अझ शंकास्पद भ्रष्टाचारको विषय संसदको रेकर्डबाट हटाउने कुरा अर्को बिडम्बनापूर्ण मानिएको छ । जसलाई लिएर अहिले चौतर्फी आलोचना भइरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको फाइल खोल्छु भन्दै आएका थिए । तर भ्रष्टाचार भएको छ है भने महालेखाको प्रतिवेदनमा उल्लेख भएको कुरा बोल्दा उनको बोली संसदको रेकर्डबाट हटाउनुले सरकार टिकाउने नाममा प्रचण्डले गरेको आत्मसमर्पण हो । यसले सत्तापक्ष र प्रतिपक्षबीच भ्रष्टाचारमा मिलेमतो भएको जनताले आशंका गरेका छन् ।
सरकारले पहिले भएका भ्रष्टाचारमा कोही पनि नछुटुन् भनेर कडा कारबाही गर्ने हो । प्रतिपक्षले सरकारले गरेका क्रियाकलापको विरोध र भण्डाफोर गर्ने हो । तर अहिले सरकार र प्रतिपक्षीबीच चोचोमोचो मिल्न खोज्नुलाई राम्रो मानिएको छैन ।
शुक्रबारको राष्ट्रियसभा बैठकमा सांसद खिमलाल देवकोटाले संसदमा सरकार र प्रतिपक्षबीच मिलेमतो हुने गरेको बताए । पशुपति मन्दिरमा जलहरी काण्डलाई डिसमिस पार्न प्रमुख तीन दलका शीर्ष नेताबीच बैठक भएपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।