राजनीति

संसदीय सुनुवाइ समिति गठन: प्रधानन्यायाधीश नियुक्तिको बाटो खुल्यो

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिमा प्रतिनिधिसभाबाट प्रतिनिधित्व गर्ने सदस्य चयन भएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले सदस्यको चयन गरेको हो ।

संसदीय समितिमा नेपाली कांग्रेसको तर्फबाट रमेश लेखक, ईश्वरी देवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की, एमालेबाट पदम गिरी, महेश कुमार बर्तौला, लिलानाथ श्रेष्ठ र ईश्वरी जीएम रहेका छन् ।

यस्तै, माओवादी केन्द्रबाट जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टी पशुपति शम्शेर जबरा र जनता समाजवादी पार्टीबाट प्रकाश अधिकारी रहेका छन् ।

१५ सदस्यीय समितिमा राष्ट्रियसभाबाट कांग्रेसका रमेशजंग रायमाझी, एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्मा वैशाख १३ गते नै मनोनीत भइसकेका छन् । यससँगै प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीकाे सुनुवाइलाई बाटो खुलेको छ।

सर्वोच्च अदालत १५ महिनादेखि कायम मुकायमको नेतृत्वमा थियो । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा १ फागुन २०७८ मा महाअभियोग प्रस्ताव दर्ता भएपछि दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बने । उमेर हदका कारण उनले पनि अवकास पाएपछि ५ भदौमा कार्की कामु प्रधानन्यायाधीश भए । कार्की १७ साउन २०७३ मा सर्वोच्चको न्यायाधीश भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *