
काठमाडौं । एमाले महासचिव शंकर पोखरेल प्रतिनिधिसभा सदस्य छैनन् । ६ वर्ष हुन लाग्यो प्रतिनिधिसभामा उनी सदस्य नभएको छ । २०७४ मा लुम्बिनीको मुख्यमन्त्री बनाउन भन्दै पार्टी अध्यक्ष केपी ओलीले उनलाई प्रदेश सभामा टिकट दिए ।
ओलीकै चाहनाअनुसार चुनाव जितेर लुम्बिनी प्रदेशको उनी पहिलो मुख्यमन्त्रीसमेत बने । तर साढे तीन वर्षमै उनको सरकार ढल्यो । डेढ वर्षसम्म बाहिरै बसे । गत मंसिरमा एमालेले उनलाई दाङ २ बाट प्रतिनिधिसभा सदस्यको टिकट दियो ।
दाङ एमालेको राम्रो पकड भएको जिल्ला हो । तर उनी माओवादीकी रेखा शर्मा पराजित भए । एमालेलाई सबैभन्दा ठूलो धक्का पोखरेलकै हारले लागेको हो । किनभने उनी एमालेको शक्तिशाली महासचिव हुन् । एमालेको १०औं महाधिवेशनमा उनी अत्यधिक मतसहित विजयी बनेका हुन् । पोखरेललाई ओलीको उत्तराधिकारी मान्ने पनि एमालेमा धेरै छन् । तर पार्टी कमिटीमा रहने, संसदमा नहुँदा पोखरेल देखिन र सुनिन छाडेका छन् ।
पार्टीमा नेतृत्वको प्रतिस्पर्धामा रहेका नेताहरू संसदमा रहँदा र आफू नहुँदा पोखरेलले निकै खिन्नता महसुस गरेका छन् । उनले माओवादीकी रेखा शर्मासँग पराजित हुनुमा पार्टीकै नेताहरूको असहयोग रहेको गुनासो गर्दै आएका छन् । खासगरी उपाध्यक्ष विष्णु पौडेलले असहयोग गरेकाले आफू पराजित भएको उनले निकट नेताहरूसँग गुनासो गर्दै आएका छन् । पौडेल पनि एमालेमा अध्यक्षका बलियो दाबेदार हुन् । पोखरेल पाँच वर्षसम्म प्रतिनिधिसभामा नरहँदा त्यसको फाइदा पौडेलले उठाउन पाउने छन् ।
एमालेमा पौडेल र पोखरेल दुवैलाई अध्यक्षका दाबेदारका रूपमा हेरिएको छ । जबसम्म पोखरेल कमजोर हुँदैनन्, तबसम्म आफू अध्यक्ष बन्न नसक्नेमा पौडेल विश्वस्त नै छन् । किनभने पोखरेललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र केपी ओलीको साथ र सहयोग छ । महासचिव रहेकै अवस्थामा आउँदो महाधिवेशनमा पोखरेलले अध्यक्षमा बाजी मार्ने संकेत देखिएपछि पौडेलले फेरि एकपटक ओलीलाई नेतृत्व दिने गरी ७० वर्षे उमेरहद निलम्बनको प्रस्ताव गरेका थिए । पौडेलको यो रणनीतिप्रति पोखरेलले आपत्ति जनाएको बताइन्छ ।
पछिल्लो समय एमालेमा पौडेल पोखरेलभन्दा हाबी हुँदै गएको एक नेताले जानकारी दिए । पार्टीले जुन ढंगले संसदमा उपस्थिति जनाउनुपर्ने हो त्यसरी नहिँडेको भन्दै पोखरेलले सामाजिक सञ्जालमार्फत पार्टीका सांसदहरूलाई टास्क दिँदै आएका छन् । पोखरेल कहिले त दिनमै दुई तीनवटासम्म स्टाटस लेखिरहन्छन् ।
सांसद नभएकाले आफूलाई लागेको कुरा र चर्चामा आउनकै लागि पोखरेलले सामाजिक सञ्जाललाई टार्गेट बनाउन थालेको बताइन्छ । चाहे पार्टीले संसदमा उठाउनुपर्ने एजेन्डा होस्, चाहे सरकारका विरोध वा नयाँ पार्टीका विषयमा पार्टीका धारणा पोखरेलले सामाजिक सञ्जालमार्फत नै सार्वजनिक गर्न थालेका छन् । यसले उनलाई चर्चामा ल्याउनभन्दा पनि बढी आलोचित बनाइरहेको एक केन्द्रीय सदस्यले बताए ।
बिहीबार पोखरेलले सार्वजनिक गरेको स्टाटसलाई नै हेरौं । जहाँ उनले राष्ट्रिय स्वतन्त्र पार्टी लक्षित धारणा सार्वजनिक गरेका छन् । उनले पपुलिस्ट मुभमेन्टले आजको संकटको समाधान नदिने बरु समयको बर्बादी मात्र हुने बताएका छन् । पोखरेलले नेपालमा सामाजिक अराजकता र त्यसको असन्तुष्टिको मागमा पपुलिस्ट मुभमेन्टको असर देखिएको बताएका छन् ।
‘नेपालका विचारक ठानिने बुद्धिजीवी भूराजनीतिको चपेटाको आर्थिक प्रलोभनको प्रभावमा परेर यस्ता प्रश्नमा छलफल र बहस नै गर्न चाहँदैनन्,’ उनले लेखेका छन्, ‘जसका कारणले नेपालमा सामाजिक अराजकता र त्यसको असन्तुष्टिको जगमा पपुलिस्ट मुभमेन्टको असर देखिँदै छ । पपुलिस्ट मुभमेन्टले आजको संकटको समाधान दिने होइन, त्यसबाट महत्वपूर्ण समयको बर्बादी मात्र हुने हो । त्यसैले पपुलिस्ट मुभमेन्ट भर्सेज सोसियो इकोनोमिक चेन्जका विषयमा बहस गर्ने वेला भएन र ?’ जबकि रास्वपा र एमालेबीच धेरै विषयमा सहकार्य हुँदै आएको उनले भुलेका छन् ।