
काठमाडौं । गत पुसमा भएको नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा महामन्त्री विश्वप्रकाश शर्मा र सांसद प्रदीप पौडेल शेखर कोइराला–गगन थापा समूहमा खुलेर लागे । त्यसयता शर्मा र पौडेल महामन्त्री गगन थापासँगै हरेक एजेन्डामा सँगै देखिएका छन् । तर अहिलेसम्म उनीहरू संस्थापन इतर समूहको भेला वा बैठकमा सहभागी भएका छैनन् । आइतबार राति भने शर्मा र पौडेललाई पनि इतर समूहको छलफलमा सहभागी गराइयो ।
कांग्रेस नेता अर्जुननरसिंह केसीको इटालीटारस्थित निवासमा भएको छलफलमा महामन्त्री शर्मा र नेता पौडेल सहभागी थिए । उनीहरूको उपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ । शर्मा संस्थापन पक्षकै प्रकाशमान सिंह र पौडेल कृष्णप्रसाद सिटौला समूहका हुन् । दुवै संस्थापन पक्षमै रहेका बेला नेता केसीको निवासमा भएको छलफलमा उनीहरूको उपस्थितिलाई लिएर विभिन्न अनुमान गर्न थालिएको हो ।
स्रोतका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भावी सभापतिमा शशांक कोइरालालाई अघि सार्न खोजेपछि इतर पक्ष एकढिक्का बन्न थालेको छ । छलफलमा महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू बद्री पाण्डे र जीवन परियार, नेताहरू बलबहादुर केसी र दिलेन्द्रप्रसाद बडू सहभागी थिए । आइतबारको छलफलमा शेखर कोइराला भने अनुपस्थित थिए । उपसभापति धनराज गुरुङ भने गएनन् ।
सरकारमा मन्त्री पठाउनेदेखि संसदीय समिति, विभाग र भ्रातृ संघसंस्था गठनका विषयमा कुराकानी भएको नेताहरूले बताएका छन् । सभापति देउवाले ७० मध्ये अहिलेसम्म १६ विभाग प्रमुख तोकेका छन् । कोइराला–थापा पक्षले सरकारमा कम्तीमा तीन मन्त्री आफ्नो समूहबाट पठाउन पाउनुपर्ने र संसदीय समितिमा पनि उचित प्रतिनिधित्व गर्न पाउनुपर्ने अडान सभापति देउवासँग राख्दै आएको छ । इतर समूहका सहमहामन्त्री जीवन परियारलाई संसदीय सुनुवाइ समिति सभापति बनाउन खोजे पनि उनले अस्वीकार गरेका थिए । परियारले मन्त्री नै खोजेका छन् ।
स्रोतका अनुसार इतर समूह अहिलेदेखि नै १५औं महाधिवेशनको तयारीमा लागेको छ । संस्थापन पक्षबाट शशांक कोइराला र पूर्णबहादुर खड्कामध्ये एकजना सभापतिको उम्मेदवार बन्ने सम्भावना छ । नेता विमलेन्द्र निधि पनि सभापतिको आकांक्षी हुन् । तर, सभापति देउवाले कसैलाई पनि आश्वासन दिएका छैनन् ।
केही समयअघिसम्म देउवाले शेखर कोइरालालाई सभापतिको उम्मेदवार बनाउने आकलन गरिएको थियो । तर शेखरले नै त्यसको खण्डन गरेका छन् । यदि संस्थापन पक्षबाट शशांक कोइराला सभापतिको उम्मेदवार बनेमा इतर समूहले शेखर कोइरालालाई उठाउने छ । यस्तो अवस्थामा कांग्रेसको नेतृत्व जसले जिते पनि कोइराला परिवारमै जाने सम्भावना पनि देखिन्छ । तर अझै दुई वर्ष बाँकी रहेकाले यसबीचमा विभिन्न उतारचढाव भने हुन बाँकी नै छ ।
कांग्रेस नेताहरूका अनुसार १६औं महाधिवेशनको तयारीका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता प्रदीप पौडेल एक ठाउँमा उभिन लागेका हुन् । त्यसबेलासम्म कांग्रेसका सिनियर नेताहरू फेज आउट हुने र आफ्नो हातमा कांग्रेसको नेतृत्व पर्ने बुझाई गगन–विश्वको छ । सोहीकारण अहिलेदेखि नै गगन, विश्व र प्रदीपलाई ‘ट्रोइका’ का रूपमा अघि बढाउने रणनीति अख्तियार गरिएको छ ।