राजनीति

नारायणकाजीको ‘स्टन्ट’ ले गठबन्धनमा दरार, दशैंलगत्तै राजनीतिक कोर्ष परिवर्तनको सम्भावना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पाँचै वर्ष आफैंले सरकारको नेतृत्व गर्ने अभिव्यक्ति र गृहमन्त्री नारायणकाजी श्रेष्ठ कांग्रेसलाई छाडेर एमालेसँग मिलेर सरकार चलाउनुपर्ने खेलमा लागेपछि सत्तारुढ गठबन्धनमा दरार उत्पन्न हुने देखिएको छ । जसकारण प्रधानमन्त्री प्रचण्ड न्युयोर्क र चीनको भ्रमणबाट फर्केलगत्तै राजनीतिक कोर्ष परिवर्तनको सम्भावना बढ्दै गएको अनुमान गर्न थालिएको छ ।

संयुक्त सरकारमा रहेर पनि प्रचण्ड र नारायणकाजी एकमना सरकार जसरी अघि बढेपछि कांग्रेस, एकीकृत समाजवादी, जसपालगायतका दल असन्तुष्ट बनेका छन् । राम्रो कामको जस आफूले लिने, नराम्रो कामको दोष कांग्रेस नेताको टाउकोमा थुपार्ने प्रवृत्ति नारायणकाजीमा देखिँदै गएको छ । कतिसम्म भने उनले आफू निकट पत्रकार र मिडिया प्रयोग गरेर कांग्रेस नेताहरूलाई नंग्याउन कुनै कसर बाँकी राखेका छन् । त्यसकारण उनको विकल्प खोज्न कांग्रेस नेतृत्वले प्रचण्डलाई आग्रह गर्दै आएको छ । तर प्रचण्ड भने नारायणकाजीलाई हटाउन तयार देखिएका छैनन् । बरु चीन भ्रमणबाट फर्केलगत्तै एमालेसँग मिलेर सरकार चलाउनुपर्ने नारायणकाजीको सल्लाहअनुसार उनले अभिव्यक्ति दिन थालेका छन् ।

प्रचण्डले समाजवादी मोर्चाको बैठकमा भनेका छन्– ‘मलाई अब केही लिनुदिनु छैन । जे छ राष्ट्र, जनता र क्रान्तिको लागि उपलब्धिको रक्षाको लागि बाँकी जीवन सम्पूर्ण रुपमा लगाउन बाहेक सोचेको छैन । यो सरकार कति समय चल्छ चल्दैन भन्ने मेरो टेन्सन त्यतातिर छैन । कतिपयले सरकार जोगाउन यसो गर्यो उसो गर्यो भन्छन् वाइयात हो । मैले सरकारको नेतृत्व गर्दा १५ दिन भएपछि ठीकै छ, एक महिनाको भएपनि ठीकै छ । जे गर्छु राम्रो काम गर्छु राम्रो काम गर्दा गर्दै कसले हटाउँदा रहेछन् नेपाली जनताले हेर्छन् । फेरि म सरकार छाड्न गाह्रो मान्ने मान्छे पनि होइन ।’

गत शनिबार चन्द्रागिरीमा आयोजित माओवादीको कार्यक्रममा प्रचण्डले पाँचै वर्ष आफूले सरकार चलाउने घोषणा गरेका थिए । जबकि कांग्रेस र माओवादीबीच आधा आधा कार्यकाल सरकारको नेतृत्व लिने सहमति भएको कतै छिपेको छैन । प्रचण्डको यस्तो अभिव्यक्तिपछि सत्तारुढ गठबन्धनमा धेरै चिरा परिसकेको अनुमान गर्न थालिएको छ । केही दिनयता एमाले नेताहरूले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादीका नेताहरूसँग भेटघाट तीव्र पारेका छन् । चीनले अहिलेको गठबन्धन तोडेर एमाले र माओवादी गठबन्धन बनाउन खोज्नुले पनि दशैंलगत्तै समीकरण फेरबदल हुने अनुमान गरिएको हो ।

पछिल्लोपटक माओवादी र एमाले नेताहरु चीन भ्रमणमा गइरहेका छन् । अहिले एमाले महासचिव शंकर पोखरेल चीनमा छन् । उनी फर्केलगत्तै प्रचण्ड बेइजिङ पुग्नेछन् । त्यसैले प्रचण्ड चीन भ्रमणबाट फर्केपछि थप समस्या देखिने विश्लेषण हुन थालेको छ । यदि प्रचण्डले चलखेल धेरै गरेमा कांग्रेसले एमालेसँग मिलेर सरकार चलाउने सम्भावना पनि उत्तिकै रहेको बताइन्छ । स्रोतका अनुसार पार्टी सभापति शेरबहादुर देउवा एमालेसँग मिलेर सरकार चलाउने अवस्थामा दलको नेता परिवर्तन गर्ने ‘मुड’ मा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *