राजनीति

नेपालको नयाँ नक्शाप्रति समर्थन जनाउन एमाले महासचिव पोखरेलको चीनलाई आग्रह

बेइजिङ । एमालेका महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच भेटवार्ता भएको छ । सोमबार बेइजिङमा महासचिव पोखरेल र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता भएको हो ।

भेटमा महासचिव पोखरेलले नेपालले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रको भूभाग समेटी चुच्चे नक्शा जारी गरेको जानकारी गराउँदै त्यसमा चीनको साथ समर्थनका लागि आग्रह गरेका छन् । उनले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण र एमालेका अध्यक्ष केपी ओलीको चीन भ्रमणका समयमा भएका सहमति, सम्झौता छोटो कार्यान्वयन होउन् भन्ने एमालेको चाहना रहेको स्पष्ट गरे ।

‘१८१६ मा भएको सुगौली सन्धिले निर्धारण गरे अनुसार नेपालको नक्सा संसदबाट पास गरेर औपचारिक रूपमा जारी गरेका छौं । त्यसले गर्दा हामीले दबाब र अप्ठ्याराहरूको पनि सामना गर्नुपरेको छ । हामीले जारी गरेको नक्साको सन्दर्भमा हामी सोही अनुसार चीनको पनि साथ चाहन्छौं । चीन सरकार र चिनियाँ कम्युिनष्ट पार्टीको साथ चाहन्छौं । हामी एक चीनको पक्षमा दृढ छौं । नेपालको भूमिबाट चीन विरोधी गतिविधि गर्ने कामलाई अस्वीकार गर्छौं,’ उनले भने ।

सीपीसीको विदेश विभाग प्रमुख लिउले दुई देशका उच्चस्तरीय भ्रमणको समयमा भएका सहमति, सम्झौता छिटो कार्यान्वयनका लागि अधिकतम प्रयास रहने बताए । उनले नेपालको विकास र समृद्धि यात्रामा चीनको साथ सहयोग रहने भनाइ राखे ।

‘एक चीन नीतिमा दृढ रहेकोमा एमालेलाई धन्यवाद । एमाले र चिनियाँ कम्युनिष्ट पार्टीबीचको एकता घनिष्ठ र समुधुर छ । यसलाई हामी नयाँ उचाइमा लैजान चाहन्छौं ।–चीन र नेपालबीचको घनिष्ठ सम्बन्ध नचाहने शक्तिहरू पनि छन् । हाम्रो राष्ट्रपति महामहिम सीको नेपाल भ्रमण क्रममा भएका सहमतिहरू र तपाईहरूका अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेला चीन भ्रमणको क्रममा भएका सहमति कार्यान्वयन होस् भन्नेमा हामी दृढ छौं । ती सहमति, सम्झौताहरू कार्यान्वयन छिटो गराउन हाम्रोतर्फबाट अधिकतम् प्रयास हुनेछ,’ लिउले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *