राजनीति

को हुन् स्वर्गीय सुवास नेम्वाङ ?

काठमाडौं । संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ ।

सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा बाटोमै निधन भएको उनका स्वकीय सचिव कृष्णप्रसाद काफ्लेले बताए ।

उनीबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल, पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत पार्टी नेता अस्पताल पुगेका थिए । नेम्वाङको जन्म २००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा भएको थियो ।

उनी २०४८ र २०५२ सालमा गरी २ पटक राष्ट्रिय सभाको सदस्य भए । नेम्वाङले इलामबाट २०५६ सालदेखि निरन्तर संसदीय चुनाव जितिरहे । उनी २०६४ सालको संविधानसभा निर्वाचन र ७० को दोस्रो संविधानसभाको निर्वाचनमा इलाम– २ विजयी बनेर संविधानसभा अध्यक्षको जिम्मेवारीमा रहे ।

कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्यप्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्षसमेत भए उनी । ७४ को संसदीय निर्वाचनमा एमाले– माओवादी गठबन्धनबाट उनी विजयी भए । गत पुस १० मा राष्ट्रपतिमा उम्मेदवारी दिएका नेम्वाङलाई नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पराजित गरेका थिए ।

कानूनमा स्नातक गरेका नेम्वाङ केही समय कानून व्यवसायमा पनि थिए । विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका नेम्वाङ २०२९ सालमा महेन्द्र रत्न बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट स्ववियु सभापति बने । २०३३ सालमा राजकाज मुद्दामा जेल परेका उनी तत्कालीन नेकपा मालेमा संगठित भए ।

२०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा माक्सवादी पार्टीबीच एकता भएपछि बनेको नेकपा एमालेमा नेम्वाङ आवद्ध भए । २०५४ को छैटौं महाधिवेशनदेखि उनी निरन्तर एमाले केन्द्रीय कमिटीमा छन् ।

२०७१ सालमा भएको नवौं महाधिवेशनपछि उनी स्थायी कमिटी सदस्य बनेका थिए । २०७८ सालमा चितवनमा सम्पन्न दशौं महाधिवेशनबाट नेम्वाङ उपाध्यक्ष थिए ।नेपाली राजनीतिमा शालीन र सबैलाई मिलाएर जान सक्ने नेताको रुपमा उनले आफ्नो छवी बनाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *