राजनीति

एकीकृत समाजवादीमा असन्तुष्टि बढ्दो, रामकुमारी झाँक्रीले अस्वीकार गरिन् जिम्मेवारी

काठमाडौं । एकीकृत समाजवादीमा नेताहरूको कार्यविभाजनलाई लिएर असन्तुष्टि देखिएको छ । सो पार्टीले संघीय निर्वाचन क्षेत्रसम्म केन्द्रीय कमिटीका सदस्यलाई इन्चार्ज बनाएर कार्यविभाजन गरेको छ । अध्यक्ष माधवकुमार नेपालले पार्टी कामको नेतृत्व गर्ने र महासचिव घनश्याम भुसालले समग्र सांगठनिक कामको अनुगमन र मोर्चा संगठनका कामको विशेष अनुगमन गर्ने जिम्मेवारी पाएका छन् ।

संगठन विभाग प्रमुखको जिम्मेवारी उपाध्यक्ष बेदुराम भुसालले पाएका छन् । केन्द्रीय सचिव जीवनराम श्रेष्ठले केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारी पाएका छन् । उमहासचिवसमेत रहेका केन्द्रीय कार्यालय सचिव डा. गंगालाल तुलाधरले बागमती प्रदेश कमिटीको इन्चार्जको जिम्मेवारी पाएका छन् । स्थायी कमिटी सदस्य हरि पराजुलीलाई सचिवका साथै लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ ।

घनेन्द्र बस्नेतलाई कोशी, धर्मनाथप्रसाद साहलाई मधेश, तुलबहादुर गुरुङलाई गण्डकी, प्रकाश ज्वालालाई कर्णाली र गरिमा साहलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । उपत्यका विशेष प्रदेशमा विश्वनाथ प्याकुरेल र सम्पर्क विशेषको इन्चार्जको जिम्मेवारी विजय गुरुङलाई दिइएको छ ।

कतिपय पदाधिकारीले दोहोरो जिम्मेवारी पाएको र महिला र युवाको प्रतिनिधित्व अपेक्षित नभएको भन्दै आलोचना भएको छ । समानुपातिक, समावेशी सिद्धान्तअनुसार महिलाको प्रतिनिधित्व र जिम्मेवारी नभएको भन्दै महिला नेतृहरूले असन्तुष्टि जनाएका छन् ।

एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले प्रवासको जिम्मेवारी पाएकी छिन् । उनले प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजन तथा युरोप, अमेरिका र ल्याटिन अमेरिकाको इन्चार्जको जिम्मेवारी पाएकी छिन् । तर, यसमा झाँक्री खुसी छैनन् । भूमिका खुम्च्याउने र युवा नेतृत्वप्रति अविश्वास पैदा हुने गरी जिम्मेवारी तोकिएको भन्दै झाँक्री निराश भएकी छिन् ।

झाँक्रीले मोर्चा संगठन वा लुम्बिनी प्रदेशको जिम्मेवारी चाहेकी थिइन् । युवा संघको जिम्मेवारी लिन पनि उनी तयार थिइन् । तर, पार्टीले टेक्ने जमिन नै नदिएको उनको बुझाइ छ । त्यसैले उनले सो जिम्मेवारी आफूले लिन नसक्ने बताएकी छन् । झाँक्रीलाई लामो समयसम्म पार्टीले कुनै जिम्मेवारी नदिँदा उनी निष्क्रिय बनेकी थिइन् । कतिपयले उनी एमालेमा फर्किन लागेको अनुमान गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *