राजनीति

पार्टी एकताका लागि माओवादी केन्द्र नाम परिवर्तन गर्ने तयारीमा

काठमाडौं । नेकपा माओवादी केन्द्रले कम्युनिष्ट पार्टी एकताका लागि नाम परिवर्तन गर्ने भएको छ । पार्टीको २५ भदौमा बसेको केन्द्रीय कार्यालयको बैठकले छलफलमा रहेका अन्य पार्टीसँगको एकतालाई सफल पार्नका लागि नामको पछाडि कोष्टमा रहेको (माओवादी केन्द्र) को बारेमा आगामी आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निष्कर्षमा पुग्ने जनाएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरी तल्ला कमिटीमा पठाएको उक्त सर्कुलरको २ नम्बर बुँदामा माओवादी केन्द्रले यस विषयमा स्पष्ट उल्लेख गरेको छ ।

‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिस्ट घटकहरूसँग पार्टी एकताको विषयमा गम्भीर ढङ्गले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ठमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ’, जारी सर्कुलरमा माओवादी केन्द्रले उल्लेख गरेको छ ।

पार्टी रुपान्तरणको तीन महिने अभियानमा रहेको माओवादी केन्द्रले यसलाई तल्ला कमिटीमा पनि छलफल गर्ने उदेश्य राखेको छ । माओवादीले तीन महिने अभियान सकिएलगत्तै आगमी मंसिरमा विधान महाधिवेशन गर्ने र त्यसपछि विशेष महाधिवेशन गर्ने निर्णय गत १७ देखि २१ साउनसम्म राजधानीमा चलेको केन्द्रीय समिति बैठकबाट गरेको थियो ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका र त्यहाँबाट सिधै छिमेकी मुलुक चीनको भ्रमणमा निस्कनुअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अध्यक्षतामा बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले यस्तो निर्णय गरेको हो । पार्टी एकताको उद्देश्यसहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपाबीच गत ४ असारमा समाजवादी मोर्चा घोषणा भइसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *