
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङ्गले शिष्टाचार भेटघाट गरेका छन् ।
मन्त्रालयमा मंगलबार भएको भेटघाटका क्रममा कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काले नेपाल र चीनबीच सदियौं पुरानो दुईपक्षीय सुमधुर सम्बन्ध रहेको बताए । उनले नेपाल एक चीन नीतिप्रति सदैव दृढतापूर्वक प्रतिबद्ध रहेको र नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।
नेपालको आर्थिक एवम् पूर्वाधार विकासमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले प्रधानमन्त्रीबाट आगामी साता हुने चीन भ्रमणलाई सरकारले उच्च प्राथमिकतामा राखेको र भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाईमा पुर्याउने विश्वास व्यक्त गरे । उनले नेपाली सेनाको क्षमता अभिवृद्धिमा चीनले पुर्याउँदै आएको सहयोगका लागि चीन सरकारलाई धन्यवाद व्यक्त गरे ।
सो अवसरमा राजदूत चेन सोङ्गले नेपालका प्रधानमन्त्रीको आसन्न भ्रमणलाई चीन सरकारले उच्च प्राथमिकता दिएको बताए । साथै, दुई देशबीच उच्चस्तरीय भ्रमण निरन्तर हुनुपर्ने कुरामा जोड दिँदै चीनको Xizang Autonomous Region (XAR) को Linzhi शहरमा आगामी अक्टोबर ४-६, २०२३ सम्म हुने The Third Trans-Himalayan Forum for International Cooperation कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको सहभागिताका लागि चिनियाँ परराष्ट्र मन्त्रालयको तर्फबाट पठाएको निमन्त्रणा समेत हस्तान्तरण गरे ।
