काठमाडौं।नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गगन थापाले केन्द्रीय समितिमा प्रस्तुत गरेको वार्षिक कार्यतालिका कार्यान्वयन गर्नु पर्ने निष्कर्ष निकालेको छ ।
मंगलबार डा. शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बसेको इतर समूहको बैठकले कांग्रेसको साझा एजेण्डाको रुपमा प्रस्तुत गरिएको वार्षिक कार्यतालिकाले पार्टी चलायमान भएको निष्कर्ष निकाल्दै त्यसलाई समीक्षा गर्नु पर्ने निष्कर्षमा पुगेको नेता बडुले बताए ।
बैठकको निर्णय सुनाउँदै केन्द्रीय सदस्य दिलेन्द्र बडुले भने, ‘कार्ययोजना र कार्यतालिकासहित पार्टी अघि बढेको छ । केन्द्रीय समितिले पास गरेको कार्यतालिका पछिल्लो समय बीचमा वर्षातको कारणले केही दिन रोकियो । त्यो भन्दा पहिले एक चरणको कार्यक्रम पूरा भैसकेको छ । यसको एउटा समीक्षा गर्नुपर्छ । र त्यो कार्यतालिका र कार्ययोजनालाई निरन्तरता दिनुपर्छ, त्यसले नै पार्टीलाई चलायमान बनाउँछ ।’
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय समितिमा पेश गरेको वार्षिक कार्यतालिकालाई साउन १० मा पार्टीले पारित गरेको थियो । त्यसलाई नीति अधिवेशनमा पनि साझा एजेण्डाको रुपमा निरन्तरता दिनुपर्ने कुरामा आजको बैठकमा छलफल भएको नेता बडुको भनाई छ ।
त्यो बाहेक असोज ४ गतेदेखि बस्ने केन्द्रीय समितिका बैठकका एजेण्डा के के हुन सक्छन् भन्ने विषयमा पनि बैठकमा छलफल भएको बडुले जानकारी दिए ।
फरक प्रसङ्गमा नेता बडुले संसद् भित्रको विषय र वर्तमान सरकारको कामप्रति सन्तोष गर्नसक्ने स्थिति नभएको र सरकारको प्रभावकारिता कमजोर बनेको प्रति कुरा उठेको बताए । बैठकमा कांग्रेस एक्लै आगामी चुनाव लडेर बहुमत ल्याउने गरी तयारीमा लाग्नुपर्ने विषयमा समेत कुरा भएको उनले बताए ।
‘अहिलेको सन्दर्भमा मन्त्रालय र सरकारको समग्र विषयको समीक्षा होला, उहाँहरूलाई अझै राम्रो काम गर्नुपर्ने भएको छ । अहिले सन्तोष भैहाल्ने स्थिति छैन,’ उनले थपे, ‘आगामी हामीले गर्नुपर्ने कार्यक्रमलाई व्यवस्थित रूपले अगाडि बढाउनु पर्ने पर्यो । हामी पार्टीलाई थप चलायमान गर्नुपर्छ, पार्टी अझ शसक्त गर्नुपर्छ र पार्टीलाई भोलि एक्लै चुनाव लडेर पनि बहुमत सहितको सरकार बनाउने तयारीमा हामी जानुपर्छ । यो सबैले स्वीकारेको कुरा हो, त्यसको तयारीमा हामी लाग्नुपर्ला नि र यसको तयारीमा स्वभाविक रूपले हामी लाग्छौ,’ उनले भने ।