राजनीति

भूकम्पपीडितको राहत र उद्धारमा जुटे दलहरू

काठमाडौं । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको राहत र उद्धारका लागि नेपालका सबै राजनीतिक दल सक्रिय भएका छन् । उनीहरूले आ–आफ्नो पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्दै प्रभावित स्थलमा खटिन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ । बैठक आइतबार बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्दैछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यलाई उपस्थितिको निम्ति आमन्त्रण गरिएको छ । कांग्रेस अहिले मंसिरमा हुन लागेको महासमिति बैठकमा केन्द्रित छ । तर त्यसका लागि आयोजना हुने कार्यक्रम स्थगित गर्दै कांग्रेस उद्धार र राहतमा केन्द्रित भएको हो । कांग्रेसले पीडितको लागि ५० लाख सहयोग गरेको छ ।

यस्तै, एमाले पनि औपचारिक कार्यक्रम छाडेर उद्धार राहतमा जुटेको छ । एमालेले एक करोड सहयोग गर्ने घोषणा गरेको छ । एमालेले उपमहासचिव विष्णु रिमालको नेतृत्वमा टोली प्रभावित क्षेत्रमा पठाएको छ ।

माओवादीले आज पदाधिकारी बैठक राखेको छ । माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार दिनभरि जाजरकोट र रुकुम पश्चिममा खटिएका थिए । उसले आफ्ना पार्टीका ेनता कार्यकर्तालाई प्रभावित स्थलमा पुगी राहत र उद्धारमा खट्न निर्देशन दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले महासचिव मुकुल ढकाल नेतृत्वको टोली प्रभावितस्थल पठाएको छ । सो पार्टीका सभापति रवि लामिछाने शनिबारदेखि नै जाजरकोट र रुकुम पश्चिमतिर नै छन् । राप्रपाले पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरीको नेतृत्वको दुई सदस्यीय टोली भूकम्पपीडित क्षेत्रमा खटाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *