काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सुरु गरेको तीन महिने अभियान कात्तिकमा सकिदैँछ । जसपाले तीन महिने अभियान कार्तिक महिनामै सकिने भएपछि आगामी दिनमा पनि सोही अभियानलाई निरन्तरता दिने जनाएको छ ।
कार्यकारिणी सदस्य एवं प्रवक्ता मनिष सुमनका अनुसार तीन महिने अभियानका लागि समयअवधी समाप्त भएपनि अभियानलाई निरन्तरता दिइनेछ । अहिले पार्टीका अध्यक्ष उपेन्द्र यादव काठमाडौँ बाहिर रहेकाले बैठक तय नभएको उनले बताए ।
अध्यक्ष काठमाडौँ फर्किए लगतै अभियानको म्याद थपिने उनले जानकारी दिए ।
विधान अधिवेशनबाट नयाँ विधान ल्याइ सकेपछि विधान अनुसार पार्टी पुनर्गठन गर्न जसपाले तीन महिने अभियान सञ्चालन गरेको थियो । त्यो अभियानबाट प्रदेश समिति र राष्ट्रिय समिति तथा केही जिल्ल र पालिका समिति पुनर्गठन गरेको छ ।
पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले मधेस प्रदेशबाहेक अन्य छ वटै प्रदेश समिति र राष्ट्रिय समितिहरू पनि पुनर्गठन भइसकेका छन् ती समितिहरूको प्रतिवेदन पनि केन्द्रलाई प्राप्त भइसकेको बताए । अब जिल्ला र पालिकालाई गठन तथा पुनर्गठन गर्नका लागि अभियानलाई निरन्तरता दिने उनले बताए । अभियानको क्रममा पार्टीले सात वटै प्रदेशमा प्रशिक्षण कार्यक्रमको समेत आयोजना गरेको थियो ।