काठमाडौं । अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मन्त्री हेरफेरको सम्भावना नरहेको बताएका छन् । कांग्रेसको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा बुधबार प्रवक्ता महतले अहिले सरकार फेरबदल वा मन्त्रीहरूको हेरफेरको नरहेको बताएका हुन् ।
अहिले सरकारले राम्रो गरिरहेकाले मन्त्री परिवर्तनको कुनै कुरा नभएको बताए । गणतन्त्रका पक्षमा ठुलो जनमत रहेकाले कसैले पनि सरकार कम्जोर पार्ने काम गर्नु सकरात्मक नभएको उल्लेख गरे ।
‘विभिन्न बहानामा यो व्यवस्थामाथि प्रहार गर्ने र यसलाई कमजोर पार्ने प्रयास भइरहेको छ । तर यो व्यवस्था त्यति कमजोर छैन, यो जनताको माझबाट स्थापित छ, यसमाथि प्रश्न उठाउने लक्ष्यकासाथ अनेकौँ बहानाबाजी गरेर यसलाई कमजोर पार्ने कोसिस भइरहेको छ,’ उनले भने, ‘यो यति कमजोर छैन । यसको पक्षमा ठुलो जनमत छ । समस्याहरू छन्, क्रमशः समाधान गर्दै अघि बढ्नुपर्छ ।’
मन्त्री महतले जाजरकोट भूकम्पबाट पीडितहरूको राहत पुनःस्थापनाका लागि लागि ठुलो बजेटको खाँचो हुने देखिएको बताए । सरकारले आफ्नो स्रोत साधनबाट मात्रै पुनःस्थापना र पुनर्निर्माण गर्न सक्ने अवस्था नरहेको भन्दै उनले त्यसका लागि दातृ निकायको समेत समर्थन र सहयोगको खाँचो रहेको औँल्याए ।