काठमाडौं । नेकपा एमालेले सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ बिहीबार पर्वतमा आयोजना हुने भएको छ ।
बिहीबार बागलुङको गलकोटबाट सुरु भएको यात्रा बागलुङ सदरमुकाम हुँदै पर्वतमा पुगेर सभाको आयोजना गर्ने जनाइएको छ । नेकपा एमाले पर्वतले कुश्माबजारमा तयारी गरेको जनसभामा नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी रहेको जिल्ला अध्यक्ष राजु पौडेलले जानकारी दिए ।
उनका अनुसार दिउँसो १ बजे ओली पर्वत र बागलुङको सिमाना मालढुङ्गामा आइपुग्ने र पर्वतमा स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यसलगत्तै सदरमुकाम कुश्माबजारमा आयोजना गरिएको आमसभामा सम्बोधन गर्ने कार्यक्रम समेत रहेको उनले बताए ।आमसभा सकिएपछि पर्वत र कास्कीको सिमाना नयाँपुलमा पुगेर बिदाइ गरिने भएको छ । सङ्कल्प यात्रामा निस्किएको एमालेको टोली आज पोखरामा बस्ने भएको छ ।
आमसभा अघि कुश्माबजारका चार वटा स्थानबाट जुलुस प्रदर्शन गरिने र फलेवास, विहादी, पैंयु र महाशिलाको बडागाउँचौरदेखि, मोदीको खरेहादेखि, जलजलाको पुरानोबजार र कुश्मा नगरपालिकाको मैत्रीचोकदेखि जुलुस निस्किने र लोकतन्त्र चोकमा पुगेर एकत्रित हुँदै बान्द्रेविडिमा आयोजित सभामा परिणत हुने जनाइएको छ ।
जिल्लाका सातवटै गाउँपालिका र एमालेका भ्रातृ सङ्गठनका छुट्टाछुट्टै र्याली, झाँकी, भजन तथा पञ्चेबाजासहितको जुलुस निकालिने र उत्कृष्ट जुलुस प्रदर्शन गर्ने समूहलाई पुरस्कारको समेत व्यवस्था गरिएको जिल्ला सचिव गोविन्द पहाडीले जानकारी दिए । सङ्कल्प यात्रालाई लक्षित गरी पर्वत र बागलुङको सिमाना मालढुङ्गादेखि कास्की र पर्वतको सिमाना नयाँपुलसम्म झकिझकाउ पारिएको छ ।