राजनीति

गठबन्धन सरकारले देशलाई बन्धक बनायो : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार लज्जाबोध नभएको सरकार भएको बताएका छन् ।

मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा अन्तर्गत बागलुङ सदरमुकाम बागलुङ बजारमा आयोजित सन्देश सभामा बोल्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले देशलाई बन्धक बनाएको बताए । यस अवस्थाबाट देशको रक्षा एमालेले गर्नुपर्ने ओलीको भनाई छ ।

सरकारले राष्ट्रघाती काम गरेर विकास रोक्नुको साथै देशको स्वाधीनता कमजोर बनाएको ओलीले आरोप लगाए । अहिलेको सरकार देशको भूमिको बारेमा समेत बोल्न नसक्ने उनले टिप्पणी गरे । ‘तै पनि यस्तो सरकार चलिरहेको छ, अथवा सरकार हुँ भनेर बसिरहेको छ’, ओलीले भने ।

अहिलेको सरकार चरम असफल सरकार भएको ओलीले बताए । अहिले राष्ट्रियताको रक्षा गर्न, राष्ट्रलाई आत्मनिर्भर अर्थतन्त्रका साथ अघि बढाउन आवश्यक रहेको उनको धारणा छ । ‘त्यो गर्न राष्ट्रिय शक्ति आवश्यक पर्छ, राष्ट्रिय शक्ति नेपाली जनताको बिचबाट निस्किनु पर्दछ, अरूबाट निस्किने होइन, नेपाली जनता भ्रम, अन्योलमा पर्नु हुँदैन, राष्ट्रिय शक्तिको रूपमा उभिनु पर्दछ, देश हितको पक्षमा उभिनु पर्दछ, शान्तिको पक्षमा, सुशासनको पक्षमा, विकासको पक्षमा उभिन सक्नु पर्दछ’, उनले भने ।नेकपा एमाले विकासको पर्याय भएको ओलीले दाबी गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *