राजनीति

नेपाली जनताले गणतन्त्रको विकल्प खोजेका छैनन् : प्रवक्ता सापकोटा

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले नेपाली जनताले गणतन्त्रको विकल्प नखोजेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी स्थायी समिति बैठकपछि सञ्चारकर्मीमाझ उनले दावी गरे । प्रवक्ता सापकोटाले विश्वकै लागि मोडेलको रुपमा रहेको सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षताको विकल्प नेपाली जनताले नखोजेको दाबी गर्दै त्यसलाई अझ बढी उन्नत ढङ्गले अघि बढाउनुपर्ने आवश्यकता औंल्याए ।

उनले सामाजिक न्यायसहितको सुशासन र समृद्धि नेपाली जनताको अहिलेको अपेक्षा रहेको उल्लेख गरे । सोहीअनुसार अघि बढ्न परिवर्तनका पक्षधर राजनीतिक शक्तिहरु एक ठाउँमा आउनुपर्ने बताए । प्रवक्ता सापकोटाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई धुमिल बनाउने कुनैपनि दुश्प्रयासहरु सफल नहुने पनि बताए ।

प्रवक्ता सापकोटाले भने , ‘‘नेपाली जनताले लोकतन्त्रको विकल्प खोजेका छैनन्, उन्नत लोकतन्त्र खोजेका छन् । नेपाली जनताले गणतन्त्रको विकल्प खोजेका छैनन् । यो गणतन्त्रलाई अझ अग्रगामी, अझ समृद्ध बनाउनका लागि नेपाली जनताले माग गरेका छन् । अझ स्पष्ट शब्दमा सामाजिक न्यायसहितको सुशासन र समृद्धि नेपाली जनताको अहिलेको अपेक्षा हो ।’’

प्रवक्ता सापकोटाले मुलुकलाई अग्रगामी बाटोमा अघि बढाउन अग्रमगनका पक्षधर शक्तिहरुबीच सहकार्यका साथ अघि बढ्नुको विकल्प नरहेको पनि बताए । उनले भने, ‘‘त्यहीअनुसार सबै राजनीतिक पार्टीहरुले राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्छ । र साझा सवाल हो । यसमा सबै अग्रगमनका पक्षधरहरु, परिवर्तनका पक्षधरहरु एक ठाउँमा आउनु पर्छ । तपाईको प्रश्नमा यो एकातिर लोकतन्त्रवादीहरुसित जो अग्रगमनका पक्षमा थिए, तिनीहरुसित सहकार्य र वृहत वामपन्थी एकीकरण । अनि, त्यसको साथसाथै कम्युनिष्ट पार्टीको पुनर्गठन अहिलेको नेपालको अपरिहार्य आवश्यकता हो ।’’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *