काठमाडौं । सत्तामा समीकरण फेरबदलपछि प्रदेश सरकारमा विवादको अवस्था सिर्जना हुँदा अहिले प्रदेश सरकारमा राजनीतिक द्वन्द्व चर्किएको छ । केन्द्रिय सरकारले प्रदेश सरकारलाई केन्द्रको नेतृत्व अनुसार अगाडी बढाउने भन्दै स्वार्थ केन्द्रित राजनीति गतिविधि गरिरहेको एकीकृत समाजवादी अध्यक्ष माधब कुमार नेपालले प्रदेशमा देखिएको राजनीतिक विवाद सहमतिबाट टुङ्ग्याएर अघि बढ्नुपर्ने निष्कर्षसहित काँग्रेस सभापति देउवासँग छलफल अघि बढाएका हुन् ।
काँग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेसहितको पाँच दलीय गठबन्धन बनाएपछि प्रधानमन्त्रीको कार्यशैलीप्रति माधव कुमार नेपाल चिसिएका छन् । सुदूरपश्चिम सरकारलाई पूर्णता दिन अध्यक्ष नेपालले काङ्ग्रेससँग मिलेर जानुपर्ने बताइरहँदा नेकपा एमालेले असन्तुष्टि जनाएपछि अहिले माधव नेपालले काङ्ग्रेससँग नै वैकल्पिक गठबन्धन गरेर अघि बढ्नुपर्ने अडान लिएका छन् ।
अध्यक्ष नेपालले काँग्रेससँगको गठबन्धन गरेर बागमती, सुदूरपश्चिम र मधेस प्रदेशमा सरकारलाई पूर्णता दिने बताएका छन् । अहिले सरकार परिवर्तन भएपछि लामो समय सम्म पनि यी प्रदेशहरूले सरकार गठन गर्न सकेका छैनन् । सरकार गठन गरेर विकासका योजनाहरूलाई अगाडी बढाउने बेलासम्म प्रदेश सरकार गठनका विषयमा विवाद गरेर समय बिताउनु अनावश्यक भएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले काँग्रेससँगको गठबन्धन तोडेर एकीकृत समाजवादीलाई कुनै एक प्रदेशको नेतृत्व दिने बताएका थिए ।
सोही सहमति अनुसार एकीकृत समाजवादी पाटीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो । तर प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपाललाई नै अविश्वास गरेपछि अध्यक्ष नेपाल नयाँ रणनीतिमा लागेका हुन् । काँग्रेससँगको गठबन्धन भएमा जसपालाई पनि सरकारबाट बाहिर ल्याउने र प्रधानमन्त्री प्रचण्डलाई प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मत फिर्ता लिने तयारीमा अध्यक्ष नेपाल जुटेका छन् ।
सुदूरपश्चिममा एमालेले दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अस्वीकार गरेपछि नेता नेपालले देउवासँग भेट गरेको बुझिएको छ । एमालेले अस्वीकार गरे पनि एकीकृत समाजवादीको बुधवार बसेको सचिवालयको बैठकले सोडारीलाई नै मुख्यमन्त्रीको रूपमा अगाडी सार्ने निर्णय गरेको छ ।
यस्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेतासँग छलफल थालेका छन् । बुधवार साँझ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका देउवाले बिहीबार बिहान आफ्नो निवास बुढानीलकण्ठमा शीर्ष नेतासँग छलफल थालेको हुन् ।
सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार गण्डकी प्रदेश शीर्ष नेताहरूबिच छलफल भइरहेको बताए । बुढानीलकण्ठमा काँग्रेसका शीर्ष नेतासँगको छलफल कानुनविद् पनि सहभागिता जनाएका थिए । प्रदेश प्रमुख डिल्लीराज भट्टले वैशाख ७ का लागि प्रदेशसभा बैठक आह्वान गरेपछि काँग्रेसले आपत्ति जनाएको छ । मुख्यमन्त्री खगराज अधिकारीले वैशाख १० मा विश्वासको मत लिने तयारी छ । मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट परेका बेला विश्वासको मत लिने तयारी थाल्नु गलत रहेको काँग्रेसले जनाएको छ ।