मधेश प्रदेश

सर्लाहीमा सवारी साधन दुर्घटनामा परी एक जनको मृत्यु्

काठमाडौं । सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनाको बसले किच्दा मृत्यु भएको छ । घटनास्थलमै मृत्यु भएका अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत नभएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र सिंह पञ्जियार थारुले जानकारी दिए । उनका अनुसार शनिबार साँझ करिब ७ बजेको समयमा पूर्वपश्चिम राजमार्गमा पर्ने बागमती नगरपालिका ४ पुरानो चौकी नजिक प्र २ ०३ ००६ प ६७ नम्बरको मोटरसाइकल र बा २ ब ५७६६ नम्बरको मोटरसाइकल आपसमा दुर्घटनामा परेका थिए ।

प्र २ ०३ ००६ प ६७ नम्बरको मोटरसाइकलबाट लडेका व्यक्तिलाई मलंगवाबाट काठमाडौं तर्फ जाँदै गरेको ना ७ ख १८३६ नम्बरको बसले किचेको प्रहरी स्रोतले जनाएको छ । डिएसपी पञ्जियारका अनुसार मोटरसाइकल दुर्घना भएपश्चात बसले किचेर एक जनाको मृत्यु भएपछि मोटरसाइकल चालक भागेपछि मृतकको सनाखत हुन नसकेको हो । अहिले फरार मोटरसाइकल चालकको खोजीकार्य भइरहेको पञ्जियारले जानकारी दिए । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको पञ्जियारले बताए । दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान गरिरहेको समेत उनले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *