मधेश प्रदेश

मधेश प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत, ६९ जनाको समर्थन

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिएका छन् । प्रदेश सभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो ।

मधेश प्रदेश सभामा संविधानको धारा १८८ उपधारा २ बमोजिम मुख्यमन्त्री यादवले पेश गरेको आफूमाथिको विश्वासको मतको पक्षमा प्रदेश सभामा उपस्थित रहेका प्रदेश सभाका सदस्य मध्ये ६९ जनाले समर्थन जनाए । मुख्यमन्त्रीको पक्षमा विश्वास नभएको भन्दै ३५ जनाले मत नदिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

विश्वासको पक्षमा नेपाली काँग्रेसका २२ जना, जनता समाजवादी पार्टी नेपालका १८ जना, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ८ जना, नेकपा माओवादी केन्द्रका ९ जना, नेकपा एकीकृत समाजवादी पार्टीका ७ जना, राप्रपा १ जना, संघीय समाजवादी पार्टीका १ जना, नागरिक उन्मुक्ति पार्टीका १ जना र १ जना स्वतन्त्रका प्रदेश सभाका सदस्यहरुले मत दिए ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रदेश सभाका सदस्य अभिराम शर्मा महोत्तरीमा मधेश आन्दोलनको क्रममा हत्या गरिएका सशस्त्र प्रहरीका नायब निरीक्षक थमन विकको हत्या अभियोगमा महोत्तरी जिल्ला अदालतबाट दोषी ठहर भएका अभिराम शर्मा अनुपस्थित रहेको थियो ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेश सभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा नेकपा एमालेका सभामुख बाहेकका २२ जना र नागरिक उन्मुक्ति पार्टीका १३ जनाले मतदान गरेको सभामुख रामचन्द्र मण्डलले घोषणा गरे । मधेश प्रदेशमा मत विभाजन गर्दा प्रदेश सभामा १०४ जना सदस्य उपस्थित रहेका थिए ।

जनमत पार्टीले माघ ९ गते प्रदेश सरकारबाट बाहिरिँदै मुख्यमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो । यसअघि मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश सभाबाट विश्वासको मत लिँदा झण्डै शत प्रतिशत मत पाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *